काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ६१ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ । यस्तै बैंकहरूले प्रवाह गरेको कुल कर्जा रकम ५० खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले मात्रै ५४ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ४५ खर्ब एक अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
विकास बैंक र फाइनान्स कम्पनीहरूले सात खर्ब नौ अर्ब रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब ८६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
बैंक तथा वित्तीय संस्थाले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभित्र रहेर कर्जा लगानी गर्न पाउँछन् । केन्द्रीय बैंकका अनुसार अहिले सीडी रेसियो ८० दशमलव ३५ प्रतिशत छ । यस आधारमा बैंक तथा वित्तीय संस्थाले निक्षेपको नौ दशमलव ६५ प्रतिशत थप ऋण प्रवाह गर्नसक्ने ठाउँ छ । यो आधारमा हेर्दा बैंकिङ प्रणालीमा चार खर्ब ७४ अर्ब रुपैयाँ लगानीयोग्य रकम छ ।
केन्द्रीय बैंकका अनुसार चालू आर्थिक वर्षको छ महिनामा बैंकिङ क्षेत्रको निक्षेप छ दशमलव छ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप चार दशमलव दुई प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४ दशमलव नौ प्रतिशतले बढेको देखिन्छ । माघ महिनामा पनि निक्षेप बढ्दै गएको देखिन्छ । यद्यपि माघको अन्तिम साता भने निक्षेप केही घटेको छ । माघ २३ गते ६१ खर्ब ५३ अर्ब रहेको निक्षेप २५ गते घटेर ६१ खर्ब ४८ अर्बमा झरेको छ ।
अहिले बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः छ दशमलव आठ प्रतिशत, २६ दशमलव आठ प्रतिशत र ५९ दशमलव नौै प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः सात दशमलव आठ प्रतिशत, २५ दशमलव छ प्रतिशत र ६० दशमलव ३० प्रतिशत थियो । बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६ दशमलव छ प्रतिशत छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको छ महिनामा निजी क्षेत्रमा प्रवाहित कर्जा चार प्रतिशतले बढेको छ । एक वर्षअघि कर्जाको वृद्धिदर तीन प्रतिशत थियो । वार्षिक विन्दुगत आधारमा २०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा चार दशमलव नौ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३ दशमलव दुई प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ दशमलव छ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४ दशमलव नौ प्रतिशत र ३५ दशमलव एक प्रतिशत थियो ।
निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह चार प्रतिशत, विकास बैंकहरूको चार दशमलव चार प्रतिशत र फाइनान्स कम्पनीहरूको कर्जा दुई दशमलव चार प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ११ दशमलव चार प्रतिशत चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) सुरक्षणको रूपमा छ भने ६७ दशमलव सात प्रतिशत कर्जामा घर जग्गा धितो सुरक्षण छ ।
चालू आर्थिक वर्षको छ महिनामा कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा एक दशमलव एक प्रतिशतले बढेको छ । यस्तै, औद्योगिक उत्पादन क्षेत्रतर्फ आठ प्रतिशत, निर्माण क्षेत्रतर्फ चार दशमलव एक प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १० दशमलव छ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ दुई प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फ चार दशमलव पाँच प्रतिशत र उपभोग्य क्षेत्रतर्फ सात प्रतिशत कर्जा बढेको छ । यसबाहेक आवधिक कर्जा १३ दशमलव दुई प्रतिशत, नगद प्रवाह कर्जा २७ दशमलव पाँच प्रतिशत, ट्रस्ट रिसिट (आयात) कर्जा पाँच दशमलव आठ प्रतिशत, रियल स्टेट कर्जा चार दशमलव सात प्रतिशत र मार्जिन प्रकृतिको कर्जा १० दशमलव पाँच प्रतिशतले बढेको छ । यस्तै अधिविकर्ष कर्जा ४१ प्रतिशत र हायर पर्चेज कर्जा १९ दशमलव नौ प्रतिशतले घटेको छ ।