इस्लामाबाद । पाकिस्तानको राष्ट्रिय चुनावको अन्तिम नतिजाले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको समर्थनमा रहेका स्वतन्त्र उम्मेदवारले सबैभन्दा धेरै जित हासिल गरेका छन् । तथ्यांकअनुसार नेशनल एसेम्ब्ली (राष्ट्रिय सभा)का लागि दुई सय ६४ सिटमध्ये ९३ सिटमा खान समर्थित स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका हुन् ।
पाकिस्तानको निर्वाचन आयोगले फेब्रुअरी ८ मा सम्पन्न आम निर्वाचनको पूर्ण परिणाम आइतबार सार्वजनिक गरेको छ । जसमा एक सय एक स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् । यसमध्ये ९३ जना खान समर्थित उम्मेदवार हुन् ।
पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नवाजले ७५ र पूर्वविदेशमन्त्री बिलावल भुट्टो जरदारीको पार्टीले ५४ सिट प्राप्त गरेका छन् ।
निर्वाचन परिणाममा व्यापक धाँधली भएको आरोप लगाउँदै पूर्वप्रधानमन्त्री खानको पीटीआईले आइतबार देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको छ । परिणाममा लामो ढिलाइपछि सैन्य प्रतिष्ठानले मतदानमा धाँधली गरेको आरोप पीटीआई नेताहरूले लगाएका हुन् ।
सेनाको समर्थन रहेको भनिएको पीएमएल–एनले सबैभन्दा बढी सिट प्राप्त गर्ने पार्टीको रूपमा विजयको घोषणा गरेको छ । तीन पटक प्रधानमन्त्री भइसकेका नवाज सरिफले स्थापना गरेको पार्टीले सरकार गठनका लागि प्रतिद्वन्द्वी र स्वतन्त्र उम्मेदवारसँग सम्झौता गर्न बाध्य हुने देखिएको छ ।
पाकिस्तानी सेना प्रमुखले शनिबार चुनाव ‘जित र हारको शून्य योगफलको प्रतिस्पर्धा’ नभएको भन्दै राजनीतिक ध्रुवीकरण अन्त्य गर्न आग्रह गरेका थिए ।