काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा तीन खर्ब रुपैयाँभन्दा बढीको तरलता व्यवस्थापन गरेको छ । राष्ट्र बैंकका अनुुसार यही पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले स्थायी तरलता सुविधामार्फत एक अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत पाँच खर्ब १३ अर्ब ९१ करोड गरी कुल पाँच खर्ब १५ अर्ब ११ करोड (कारोबारमा आधारित) तरलता उपयोग गरेका छन् भने निक्षेप संकलन बोलकबोलमार्फत तीन खर्ब १५ अर्ब ५५ करोड तरलता प्रशोचन गरिएको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा खुला बजार र स्थायी तरलता सुविधालगायतका विभिन्न उपकरणहरूमार्फत खुद ३० खर्ब ९९ अर्ब ४६ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू)बाट अमेरिकी डलर दुई अर्ब ७६ करोड खुद खरिद गरी तीन खर्र्ब ६६ अर्ब १४ करोड तरलता प्रवाह गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुई अर्ब ७६ करोड खुद खरिद गरी तीन खर्ब ५८ अर्ब ९० करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलर एक अर्ब ८२ करोड बिक्री गरी दुई खर्ब ४२ अर्ब आठ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर दुई अर्ब २८ करोड बिक्री गरी दुई खर्ब ९६ अर्ब २२ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको थियो । पुनरकर्जा, सहुलियतपूर्ण कर्जा र व्यवसाय निरन्तरता कर्जा कन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०८० पुस मसान्तमा ९४ करोड ८५ लाख रुपैयाँ लगानीमा छ ।
राष्ट्र बैंकका अनुसार २०८० पुस मसान्तमा एक लाख ३३ हजार एक सय ७४ ऋणीलाई प्रवाह भएको एक खर्ब ५५ अर्ब ४० करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जाअन्तर्गत ५२ हजार आठ सय ७२ ऋणीलाई प्रवाह भएको एक खर्ब चार अर्ब ७३ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ७७ हजार नौै सय १८ महिला उद्यमीलाई प्रवाह भएको ४८ अर्ब ६० करोड कर्जा बक्यौता छ ।
सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार तीन सय ८४ ऋणीको दुई अर्ब सात करोड कर्जा बक्यौता रहेको छ । ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०८० पुस मसान्तसम्ममा भुक्तानी भई बक्यौतामा रहेको राष्ट्र बैंकको भनाइ छ ।