काठमाडौं । राजस्व अनुुसन्धान कार्यालय इटहरीले अन्नपूर्ण मार्बल एन्ड सेनिटरीको कागजात नियन्त्रणमा लिएको छ । आर्थिक वर्ष २०७७/७८ देखि नै अन्नपूर्ण मार्बल एन्ड सेनिटरीबाट स्टिमेट बिलदेखि नक्कली भ्याट बिलसम्म जारी गरेको आशंका राजस्व अनुसन्धानले कागजात नियन्त्रणमा लिएको हो ।
राजस्व स्रोतका अनुसार विराटनगरको भृकुटी चोकमा सञ्चालन हुँदै आएको अन्नपूर्ण मार्बल एन्ड सेनिटरीले केही समय पहिलेमात्र एक लाख ३७ हजार नौ सय ५३ रुपैयाँको बिलबिजक जारी गरेकोे आधारमा अनुसन्धान गर्दा करिब ८४ हजार रुपैयाँको मूल्य अभिवृद्धि कर छली गर्ने प्रयास गरेको खुलेको थियो । सोपश्चात् विस्तृृत अनुसन्धान गर्ने भन्दै राजस्वले आवश्यक कागजात नियन्त्रणमा लिएको बताइएको छ । लामो समयदेखि मार्बल, टायलसलगायत सेनिटरीको काम गर्दै आएको अन्नपूर्ण मार्बलका सञ्चालकले ठूलो राजस्व चुहावट गर्ने गरेको राजस्वको आशंका छ । योसँगै मार्बल र टायल्समा हुने अनधिकृत व्यापारी कारोबारको थप तथ्यहरू पनि खुल्न सक्ने अनुमान राजस्वले गरेको छ । यो घटनाभन्दा अगाडि पनि उक्त फर्मलाई आन्तरिक राजस्व कार्यालय विराटनगर र राजस्व अनुसन्धान कार्यालय सुनसरीले पटक–पटक कारबाही गरेको थियो । पटक–पटक कारबाही गर्दा पनि सञ्चालकले राजस्व छलीलाई निरन्तरता दिइरहेको पाइएको छ ।
यसबाहेक अन्नपूर्ण मार्बलले भन्सार एजेन्टमार्फत भन्सारबाट समेत ठूलो परिमाणमा भन्सार छलि गरिरहेको स्रोतको दाबी छ । पछिल्लो समय जीएसटी प्रणाली लागू भएपछि पनि विराटनगर भन्सार नाका भएर न्यूनरूपमा सो कम्पनीले सामान आयात गर्न थालेको छ । अहिले विराटनगर भन्सार राजस्व असुलीमा कडारूपले प्रस्तुत हुन थालेपछि भन्सार एजेन्टको पहलमा अन्नपूर्णका सञ्चालकले पटक–पटक सेटिङको प्रयास गरेका थिए । तर अन्नपूर्णका सञ्चालकको विराटनगर भन्सारमा सेटिङको प्रयास असफल भएको छ । चालू आवको छ महिनामा विराटनगर भन्सार नाका भएर अन्नपूर्णले न्यून परिमाणमा मार्बल र टायल्सको आयात गरेको छ ।
आन्तरिक राजस्व कार्यालय विराटनगरको करदाता नम्बर ३०३३२१००६ कायम रहेको अन्नपूर्ण मार्बल एन्ड सेनिटरी फर्मको सञ्चालकमा सुनिता अग्रवालको नाममा दर्ता छ । एक वर्षअगाडि मात्रै उक्त मार्बल एन्ड सेनिटरीबाट निकै ठूलो परिमाणमा राजस्व चुहावट भएको फेला आन्तरिक राजस्व कार्यालयले १० लाखभन्दा बढी नै जरिवाना गरी सञ्चालकलाई सचेत गराएको थियो । फर्म सञ्चालकमा सुनिता अग्रवालको नाम कानुनीरूपमा रहेको देखिए पनि मुख्य सञ्चालक भने कमल अग्रवाल हुन् । श्रीमतीलाई सञ्चालक बनाएर कमल अग्रवालले करोडौँको राजस्व चोरी गर्ने गरेको स्रोतको दाबी छ । साथै, अन्नपूर्ण मार्बल एन्ड सेनेटरीले बिलविजक जारी गर्दा सक्कली बिलमा कम मूल्य कायम गर्ने र नक्कली बिलमा बढी मूल्य कायम गरी उपभोक्तासँग असुली गर्ने गरेको पनि पाइएको छ ।