काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले प्राथमिक सेयर निष्काशन(आईपीओ) गर्न लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
अपि पावर कम्पनीको मुख्य लगानी रहेको सो कम्पनीले सर्वसाधारणबाट पुँजी संकलन गर्ने उद्देश्यले एक रुपैयाँ अंकित दरका २० लाख कित्ताले हुन आउने २० करोड रुपैयाँ बराबरको साधारण सेयर प्रारम्भिक सार्वजनिक निष्काशन गर्न लागेको हो । कम्पनीको सेयर निष्काशनको लागि कम्पनीका तर्फबाट अध्यक्ष सतिश न्यौपाने र नेपाल एसबीआई मर्चेन्टका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले आइतबार एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं. १ स्थित अप्पर तादी खोला हाइड्रोपावर प्रोजेक्टमा ११ मेवा क्षमताको विद्युत् आयोजना निर्माण गरिरहेको छ ।
आयोजनाको निर्माण कार्य करिब ५० प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । आयोजनाको कुल लागत दुई सय २० करोड रुपैयाँ रहने छ । आयोजनाको लागि आवश्यक ऋण एक सय ३५ करोड रुपैयाँ नेपाल एसबीआई बैंकको एकल लगानीबाट सम्पन्न भएको छ । यस कम्पनीमा अपि पावर कम्पनीकोे बहुमत सेयर लगानी रहेको छ । आयोजनामा भारतको फ्लोवेल इनर्जी कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल सामग्रीहरू जडान गरी अबको १० महिनाभित्र आयोजना सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ । यस आयोजनाबाट उत्पादित विद्युत् शक्ति ३३ केभी डबल सर्किट लाइनबाट आठ किलोमिटर टाढा रहेको समुन्द्रटार सबस्टेसनमा जडान गरी सो विद्युत् मातातीर्थ, काठमाडांै सवस्टेसनमा ल्याइनेछ । यस समूहबाट प्रवद्र्धित कम्पनीहरूबाट हालसम्म एक सय मेगावाटभन्दा बढी विद्युत् उत्पादन गरी राष्ट्रको नवीकरणीय ऊर्जा उत्पादनमा योगदान पु¥याएको कम्पनीले जनाएको छ ।