नयाँदिल्ली । भारतमा अन्नबालीको उचित मूल्य पाउनुपर्ने मागसहित किसानले प्रदर्शन गरेका छन् । किसानहरु विभिन्न राज्यबाट दिल्लीतिर अघि बढेका छन् ।
किसानले आफ्नो बालीको न्यूनतम समर्थन मूल्यवृद्धि, किसान र कृषि मजदुरलाई पेन्सन, कृषि ऋण माफी, विगतका आन्दोलनमा लागेका प्रहरी मुद्दा फिर्ता गर्नुपर्नेलगायतका विभिन्न माग राखेका छन् ।
विभिन्न राज्यका करिब दुई सय किसान संघले मंगलबार दिल्लीमा आयोजना गरिने विरोध प्रदर्शनमा भाग लिने बताएका छन् ।
दिल्ली प्रहरीले किसानहरूको प्रदर्शनलाई ध्यानमा राख्दै राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारेको छ । सोमबारदेखि पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन निषेध गर्ने आदेश जारी गरेको छ ।
दिल्ली वरपरको अन्तर–राज्य सीमानाहरूमा भारी सुरक्षा तैनाथी गरिएको छ सयौँ किसानहरू यी प्रवेश र निकास बिन्दुहरूमा चिसो जाडोको सामना गर्दै सडकहरूमा धर्नामा बसिरहेका छन् ।
सन् २०२०मा पनि किासनहरुले दिल्लीको सीमामा कैयौँ दिनसम्म धर्ना दिएका थिए । त्यसबेला उनीहरुले विवादित कृषि कानुनको विरोध गरेका थिए । करिब एक वर्ष चालेको उक्त आन्दोलनमा केही सहभागीको ज्यान गएको थियो ।