दुग्ध विकास संस्थान (डीडीसी) का महाप्रवन्धक संजीवकुमार झा माथी डीडीसीको धुलो दुध खरिदमा समेत अनियमितता गरेको आरोप लागेको छ । महाप्रवन्धक झा ले एकै समयमा विराटनगरमा प्रतिकेजी ५५५ रुपैँयाको दरले पाउने धुलो दुधलाई काठमाडौंमा रु।८०० मा खरिद गर्ने निर्णय गराई संस्थालाई ठूलो नोक्सानी गराई अनिमितता गरेको तथ्य फेला परेको छ ।
झा ले किसान र दुग्ध उत्पादक सहकारीसंग मात्र खरिद गर्न मिल्ने कच्चा दुध व्यापारीसंग किनेर मिलेमतो गरेको, नियम मिचेर चिलि सेण्टर खोल्ने र सिमा पारीवाट दुध भित्राई नेपालको उत्पादनलाई कोटा प्रणालीमा नियत्रण गरी किसानको व्यवसाय ध्वस्त पारेको, सार्वजनिक खरिद नियमको ठाडो उल्लङ्घन गर्दै निजी व्यापारीसंग ठूलो मात्रामा धुलो दूध र मख्खन खरिद गरेको भन्दै अख्तीयार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो । उक्त उजुरीबारे अख्तीयारले अहिले छानवीन गरिरहेको छ ।
त्यस्तै झा माथी ठेकेदारले सप्लाई गर्नुपर्नेमा संस्थाको गाडी नै प्रयोग गरी सर्लाहीबाट चोरी गरी ल्याएको पाउडर दूध सस्तो मूल्य कायम गरी सोहि समयमा बिना टेण्डर व्यक्तिगत डेरीबाट २०० मेट्रीक टन धुलो दुध खरिद गरेपछि मूल्य बृद्धि भएको अवस्थामा खरिद ऐन विपरित सोही डेरीको कोर्टेशनलाई नै आधार मानी अत्याधिक बढी मूल्यमा भुक्तानी गरेको पनि आरोप छ । उक्त विषयमा पनि अख्तीयारमा उजुरी परेको थियो । यी लगायत दर्जनौं भ्रष्टाचार प्रकरणमा अख्तीयारमा परेको उजुरीका बारेमा अख्तीयारले विषयगत मन्त्रालयलाई छानवीन गरी वास्तविक अवस्थाको जानकारी गराउन माग गरेको छ ।