जापान, जेठ १९
सवारीसाधन निर्माता निसानले उत्पादन क्षमता २० प्रतिशतले घटाउने घोषणा गरेको छ । कम्पनीले दशकयता पहिलो वार्षिक सञ्चालन घाटा व्यहोरेपछि उक्त निर्णय गरेको एजेन्सीहरुले जनाएका छन् । कम्पनीले मार्चमा सकिएको आर्थिक वर्षमा ३७ करोड ६० लाख डलर घाटा व्यहोरेको जनाएको थियो । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले २ अर्ब ९० करोड सञ्चालन मुनाफा हासिल गरेको थियो । यो सन् २००९ यताकै खराब अवस्था भएको जनाइएको छ ।
विश्व महामारी अझै नसकिएको कारण अझै कम्पनीले कति घाटा व्यहोर्ने एकीन नभएको कम्पनीका सीईओ माकोतो उचिदाले बताए । कम्पनीको यस्तो घोषणा निसान, रेनल्ट र मित्सुबिसीले अझै सहकार्य गर्ने घोषणा गरेलगत्तै आएको बताइएको छ । यी सबै कम्पनीले थोरै मोडल बनाउने, उत्पादन सुविधा बाँड्ने र भौगोलिक र प्राविधिक सम्बन्ध प्रगाढ पार्ने प्रतिबद्धता जनाएका हुन् । यो विश्वकै ठूलो कार कम्पनीबीचको सहकार्य हो । नयाँ सहकार्यसँगै यस अघिदेखि नै खराब अवस्थामा गुज्रिरहेको कम्पनीको सेयर मूल्यमा पनि सुधार भएको छ ।