काठमाडौँ,संघीय संसद्का नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयको दोहोरो नागरिकता र दोहोरो राहदानीे फेला परेको छ । ६ वर्ष उमेर घटाएर दोस्रो नागरिकता लिएको र त्यसको दुरुपयोग गरेर दुई थरी राहदानी बनाएको तथ्य सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन् । नागरिकता र राहदानीमा किर्ते गरेको प्रश्न उठेपछि निराकरण गर्नुको सट्टा सभामुख र राष्ट्रिय सभा अध्यक्षले उनलाई महासचिव बनाउन हतार गरेका थिए ।
२०६७ मा जागिर खाँदा पहिलो नागरिकता देखाएका उनले त्यसको एक वर्षअघि लिएको दोस्रो नागरिकता भने १० वर्षसम्म आफूसँगै राखेका थिए । उनले २०७६ भदौ २३ मा भने भूलवश विवरण फरक परेको भन्दै दोस्रो नागरिकता रद्द गराएका थिए । सुरुमा लिएको नागरिकताको प्रतिलिपिका रूपमा उनले ३९–०१–७६–०५५१५ नम्बरको नागरिकता पाएका थिए ।
तर बीचको १० वर्षमा उनले दुवै नागरिकता प्रयोग गरेर भिन्नाभिन्नै राहदानी लिएको तथ्य बाहिरीएको छ । २०६६ मा उमेर घटाएर नागरिकता लिएको तीन वर्षपछि उनले सोही नागरिकताका आधारमा राहदानी बनाएका थिए । २०६९ साउन २ ९१७ जुलाई २०१२० मा उनले पाल्पा जिल्ला प्रशासन कार्यालयबाट ०६०१८३७० नम्बरको ‘साधारण राहदानी’ लिएको अभिलेख परराष्ट्र मन्त्रालयले संसद्को राज्य व्यवस्था समितिलाई दिएको छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पाबाट ‘साधारण’ राहदानी लिएको पाँच महिना पूरा नहुँदै उनले २०६९ मंसिर २० (५ डिसेम्बर २०१२) मा राहदानी विभाग काठमाडौंबाट ००५९४४९ नम्बरको ‘विशेष’ राहदानी लिएको पनि भेटिएको छ । तर, यो राहदानीमा भने उनले पुरानै नागरिकताको विवरण बुझाएका छन् । यसरी उनको साधारण राहदानीमा जन्ममिति २०३२ पुस २६ र विशेष राहदानीमा जन्ममिति २०२६ असोज १५ भेटिएको छ । त्यस्तै उनले २०७६ असार ३० (१५ जुलाई २०१९) मा पुरानै नागरिकताका आधारमा राहदानी विभागबाट कूटनीतिक राहदानी पनि लिएका थिए ।