सहकारी ठगी प्रकरणमा नाम जोडिँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैंक खाता विवरण पठाउन २० बैंकलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पत्राचार गरेको पाइएको छ । विभागले गतमाघ ८ गते रवी लामिछानेसहित उनको पूर्वपार्टनर तथा ग्यालेक्सी फोरके टेलिभिजनका मालिक जितेन्द्रबहादुर (जिबी) राईको विषयमा छानबिन गर्नुपर्ने भएको भन्दै पत्राचार गरेको हो ।
पत्रमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एसबीआई, एभरेष्ट, एनआईसी एसिया, कुमारी, लक्ष्मी, सिद्धार्थ, कृषि विकास बैंक, ग्लोबल आईएमई, सिटिजन्स, प्राइम, एनएमबी, प्रभु, सानिमा तथा माछापुच्छे बैंकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरको जाँचबुझको सिलसिलामा आवश्यक परेको हुँदा निजहरूको नाममा रहेको बैंकको खाताको किसिम, खाता विवरण, खाता खोल्दा पेस गरेको कागजपत्र, हालको मौजात तथा ऋण लिएको भए सोको समेत विवरणको प्रमाणित प्रतिलिपि अनिवार्य पठाइदिन भन्दै पत्राचार गरेको हो ।
रवी केही समयअघिसम्म ग्यालेक्सी टेलिभिजनका सञ्चालक तथा प्रबन्ध निर्देशक थिए भने सो टेलिभिजन सुरु गर्दा विभिन्न सहकारीहरूबाट पैसा लिएर रवीले टेलिभिजन छोडेसँगै जिबी राईलाई सहकारी ठगी काण्डमा पक्राउ पुर्जी जारी गरेको छ । हाल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रहेको लामिछाने र जिबी राई मिलेर टेलिभिजन सुरु गर्दा सूर्यदर्शन सहकारीलगायत अन्य सहकारीबाट ऋणी लिएको पाइएको छ र हाल राई सो पैसा नतिरी फरार रहँदै आएका छन् भने नेपाल प्रहरीले उनविरूद्ध ‘डिफ्युजन नोटिस’ जारी गरिसकेको छ ।