सल्लेरी , सोलुखुम्बुमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ । प्रहरी निरीक्षक अनिल मिश्रले ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको थियो ।
“मङ्गलबार बेलुका महिलाको शव भेटियो भन्ने खबर आएपछि पत्ताले प्रहरी चौकीबाट खटिएको प्रहरी टोली सो स्थानमा पुगेको थियो” उनले भने , “मृतक महिलाको शरीरमा कपडा छैन, उनको केही दिनअघि मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।”
शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुमा ल्याइएको उनले बताए । घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
केही दिनअघि सोलुदूधकुण्ड नगरपालिका–८ केरुङखोला किनारमा महिलाको कपडा र केही नगदसमेत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सो खबरलगत्तै प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो । कपडा कसको हो भन्नेबारे प्रहरीको अनुसन्धान जारी रहँदा ती महिलाको शव बेवारिसे अवस्थामा भेटिएको हो । रासस