नयाँदिल्ली, जेठ १९
भारतमा कोरोनाभाइरसका कारण संक्रमित हुनेहरुको दैनिक संख्यामा वृद्धि हुँदै गएको छ । अघिल्ला दिनहरुको तुलनामा पछिल्ला दिनमा संक्रमित हुनेहरुको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । पछिल्लो २४ घण्टामा भारतमा आठ हजार ३ सय ८० जना नयाँ संक्रमित देखिएका छन् । योसँगै भारतमा कुल संक्रमितको संख्या एक लाख ८२ हजार १ सय ४३ पुगेको अधिकारीहरुले जनाएका छन् । अघिल्ला दिनहरुमा दैनिक रुपमा संक्रमित हुनेहरुको संख्या यो भन्दा थोरै रहेको थियो ।
त्यसैगरी कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल संख्या पाँच हजार १ सय ६४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा देशभरी ८९ हजार ९ सय ९५ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने झण्डै उत्तिकै संख्या अर्थात् ८६ हजार ९ सय ८३ जना संक्रमण मुक्त भएका छन् ।
‘तथ्यांकलाई विश्लेषण गर्दा कुल संक्रमित मध्ये ४७.७५ प्रतिशत संक्रमित निको भएर घर फर्किएका छन्’, एक जना सरकारी उच्च अधिकारीले भने । कुल संक्रमितहरुको संख्यामा विदेशीहरुको संख्या पनि जोडिएको मन्त्रालयले स्पष्ट पारेको छ । भारतमा दर्जनौं नेपालीहरु पनि कोरोनाभाइरसबाट संक्रमित भएका छन् । शनिबार बिहानदेखि आइतबार बिहानसम्ममा भारतमा थप १ सय ९३ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । तीमध्ये सबैभन्दा धेरै ९९ जनाको महाराष्ट्र राज्यमा मृत्यु भएको छ ।
त्यसैगरी दोस्रो धेरै गुजरातमा २७ जनाको मृत्यु भएको छ भने दिल्ली प्रदेशमा १८ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार मध्यप्रदेश र राजस्थानमा नौ, नौ जना, पश्चिम बंगालमा सात जना, तमिलनाडु र तेलङ्गानामा छ, छ जना, बिहारमा पाँच जना, उत्तर प्रदेशमा तीन जना, पञ्जाबमा दुई जना, हरियाणा र केरलामा एक एक जनाको कोरोनाका कारण पछिल्लो २४ घण्टामा मृत्यु भएको छ । (रासस/पीटीआई)