सिमकोट (हुम्ला) । यही फागुन ७ गते नेपाल एयरलाइन्सले सिमकोट-सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ । एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने गरी सिमकोटबाट परीक्षण उडान गर्ने भएको नेपाल एयरलाइन्स सिमकोट स्टेशनका प्रमुख छिरिङ लामाले जानकारी दिए । यसका लागि सबै तयारी पूरा भएको उनको भनाइ छ ।
स्थानीय गोर्ख रोकायाले सिमकोट(सुर्खेत हवाई उडान हुने भएपछि हुम्लाबासीलाई सहज हुने भएको बताए । सिमकोटबाट नेपालगञ्ज जान जहाजमा ४५ मिनेट लाग्छ भने नेपालगञ्बाट सुर्खेत पुग्न चार घण्टा लाग्छ । अब सिधै प्रदेश राजधानी सुर्खेत पुग्न नियमित उडान भए ३५ मिनेटमा पुग्न सकिने रोकायाको भनाइ छ ।