दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले वैदेशिक रोजगारीबाट फर्किएर यस वर्ष सुन्तला बेचेर ४० लाख आम्दानी गरेका छन् ।
महतको सुन्तला बगैँचा ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । २०६४ सालबाट सुन्तला खेतीमा आबद्ध महतले सुन्तलाखेतीबाट आफू सन्तुष्ट रहेको बताए । उनका अनुसार सुन्तला बगैँचामा एक हजार पाँच सय उत्पादन दिने तथा सात सय उत्पादन नदिने बिरुवा छन् । उत्पादित सुन्तला काठमाडौँस्थित कालीमाटीमा बिक्री हुँदै आएको छ ।
उनले २०७६ सालमा कृषि महत फार्म दर्ता गरी व्यवस्थितरुपमा सुन्तलाखेती अगाडि बढाइरहेका छन् । यस वर्ष कालीमाटीमा प्रतिकिलो एक सय २० सम्म सुन्तला बिक्री गरेको उनले जानकारी दिए ।
यस वर्ष उनले चार करोड बराबरको सुन्तला खरिद गरी बिक्री गरेको बताए । म्याग्दे गाउँपालिकाका किसानबाट एक करोड ५० लाख र शुक्लागण्डकीका अलैँचे, नाम्सीकोटलगायत टोलबाट दुई करोड ५० लाखको सुन्तला खरिद गरी बिक्री गरेको उनले जानकारी दिए । उनले सुन्तला बगानबाट प्रतिकिलो ७० देखि ७५ मा खरिद गरी एक सय २० सम्म बिक्री गर्ने गरेको सुनाए ।