काठमाडौं, जेठ १९
लाली गुँरास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ऋण लिएका सदस्यलाई सुविधा दिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण माहामारीको रूपमा फैलिरहेको अवस्थामा तत्काल राहत उपलब्ध गराउन ऋण लिएका सदस्यलाई यस्तो सुविधा उपलब्ध गराउन लागेको हो । संस्थाले असार मसान्तसम्म सो सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले ऋण लिएका सदस्यलाई व्यावहारिक रूपमा ब्याज तिर्न सहज हुन सकोस् भन्ने उद्देश्यले सुविधा दिएको बताए ।
संस्थाले भुक्तानी गर्न बाँकी ब्याज रकममा सम्पूर्ण ब्याज चुक्ता गरेमा जम्मा ब्याजको ५ प्रतिशत छुट दिने, ५० प्रतिशतभन्दा बढी ब्याज चुक्ता गरेमा ३ प्रतिशत छुट दिने व्यवस्था गरेको छ भने, भुक्तानी गर्न बाँकी हर्जना रकममा १०० प्रतिशत छुट दिने घोषणा गरेको छ । विश्वव्यापी महामाहारीको रूपमा फैलिएको कोरोना भाइरसले पारेको असरलाई मध्यनजर गर्दै संस्थाले ऋण लिने सदस्यलाई छुटको व्यवस्था गरेको हो । नेपालको उत्कृष्ट सहकारीको रूपमा रहेको संस्थाले गरेको पहिलो निर्णय गर्ने संस्थाको रूपमा रहेको छ । संस्थाको ललितपुरको चापागाउँ, काठमाडौँको चाबहिल र न्यूरोड, भक्तपुरको कौशलटार र पर्सा चितवनको खैरहनी गरी पाँच जिल्लामा सदस्य सुविधा काउन्टर सञ्चालन गरेको छ ।
कर्मचारीलाई कोरोना बीमा : यसैबीच संस्थाले आफ्ना पुल्चोकस्थित मुख्य कार्यालयसहित पाँच सदस्य सुविधा काउन्टरका कर्मचारी र सुरक्षा गार्डको कोरोना बीमा गरेको छ । संस्थाको चापागाउँ, चाबहिल, कौशलटार, पर्सा चितवन र न्यूरोडका सम्पूर्ण कर्मचारी र सुरक्षा गार्डको बीमा गरिएको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले कामको सिलसिलामा कार्यालय आउने कर्मचारीलाई कोरोना बीमा गरिएको जानकारी दिए । सरकारले ल्याएको कोरोना बीमाअन्तर्गत प्रतिव्यक्ति एक लाख रुपियाको रहेको छ । पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिए बीमित बीमा गरेको रकम पाउने भएका छन् । संस्थाको मुख्य कार्यालय र सदस्य सुविधा काउन्टरमा एक सय १८ जना कर्मचारी र सुरक्षा गार्डहरू कार्यरत रहेका छन् ।