काठमाडौं । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्टलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको समितिले कार्ययोजना र अन्तरवार्तापछि भट्ट सहित डोलप्रसाद चापागाईं र शत्रुघ्नप्रसाद पुडासैनीको नाम सिफारिस गरेको थियो । सरकारी सेवामा सहसचिव पदमा कार्यरत भट्ट दोस्रोपटक निगमको कार्यकारी निर्देशक नियुक्त भएका हुन् । उनी २०७७ भदौदेखि सेज प्राधिकरणमा कार्यकारी निर्देशक थिए ।
आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले मंसिर २६ गते राजीनामा दिएपछि निगम नेतृत्वविहीन थियो । मन्त्रालयले गत पुस ६ गते कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अघि बढाएको थियो ।
मन्त्रिपरिषद्ले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ । उनी यसअघि सञ्चारमन्त्री रेखा शर्माका सल्लाहकार थिए । प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले आवेदन दिएका थिए । पुस २४ गते अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि प्राधिकरण नेतृत्व विहिन थियो । मन्त्रालयले माघ १४ गते आवेदन खुलाएको थियो । यस्तै सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जोशीलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्ले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरुको विद्युतन् महसुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय पनि गरेको छ । यस्तै, एनसेलको सेयर खरिद बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।