काठमाडौँ । प्रजातन्त्र दिवसले स्वतन्त्रताको अभ्यासमार्फत विकास र समृद्धिको यात्रालाई थप गति दिने प्रेरणा मिलोस् भन्ने कामना सभामुख देवराज घिमिरेले व्यक्त गरेका छन् ।
सोमबार जारी गरेको शुभकामना सन्देशमा सभामुख घिमिरले प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
सभामुख घिमिरले शुभकामना सन्देशमा यस ऐतिहासिक दिनमा मुलुकमा तानाशाही शासन व्यवस्थाको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरूप्रति उच्च सम्मान प्रकट गरेका छन् ।
२००७ सालको क्रान्ति सफल भएर एक सय चारवर्षे लामो निरङ्कुश जहानियाँ राणा शासन अन्त्य भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । नेपालको आधुनिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको छ ।