काठमाडौं, जेठ १९
धितोपत्र बजारमा चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा ८० अर्ब ८६ करोड रूपैयाँ बराबरको सेयर सूचीकृत भएको छ । सेयर बजारका सम्बन्धमा नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार चालू आवको फागुुन मसान्तसम्ममा २५ अर्ब ५५ करोड बराबरको बोनस सेयर, २१ अर्ब ४६ करोड बराबरको डिबेन्चर, १२ अर्ब १६ करोडबराबरको साधारण सेयर, पाँच अर्ब ७५ करोडबराबरको म्युचुअल फण्ड, चार अर्ब ११ करोडबराबरको हकप्रद सेयर र ११ अर्ब ८३ करोड रूपैयाँबराबरको अन्य समेत गरी कुुल ८० अर्ब ८६ करोड रूपैयाँबराबरको सेयर सूचीकृत भएको हो ।
यस अवधिमा नेपाल धितोपत्र बोर्डले २१ अर्ब ४५ करोडबराबरको डिबेन्चर, चार अर्र्ब ४१ करोडबराबरको हकप्रद सेयर, दुुई अर्ब ७५ करोडको साधारण सेयर र एक अर्बको म्युचुअल फण्ड गरी २९ अर्ब ६२ करोडबराबरको धितोपत्र निष्काशन गर्ने अनुमति दिएको राष्ट्र बैंकले जानकारी दिएको छ । गत आवको फागुन मसान्तमा ११ सय ५५ दशमलव पाँच बिन्दुुमा रहेको नेप्से सूचकांक २०७६ फागुन मसान्तमा १३ सय ७७ दशमलव दुुई बिन्दुमा कायम भएको छ । २०७६ असार मसान्तमा यस्तो सूचकांक १२ सय ५९ रहेको थियो । धितोपत्र बजार पँुजीकरण भने वार्षिक बिन्दुगत आधारमा २४ दशमलव सात प्रतिशतले बढेर २०७६ फागुन मसान्तमा १७ खर्ब ६० अर्ब ९३ करोड कायम भएको छ । राष्ट्र बैंकका अनुसार २०७६ असार मसान्तमा बजार पुँजीकरण १५ खर्ब ६७ अर्ब ५० करोड रहेको थियो ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत कम्पनीहरूको संख्या २०७६ फागुन मसान्तमा दुई सय १२ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये एक सय ४८ बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनी रहेका छन् भने ३३ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, चार, चारवटा होटल तथा व्यापारिक संस्था र चार अन्य समूहका रहेका छन् । २०७६ असारमा सूचीकृत कम्पनीहरूको संख्या दुुई सय १५ रहेको थियो ।
राष्ट्र बैकका अनुुसार बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ८० दशमलव नौ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीकोे हिस्सा पाँच दशमलव छ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा तीन दशमलव आठ प्रतिशत, होटलको हिस्सा एक दशमलव दुुई प्रतिशत, व्यापारिक संस्थाको हिस्सा शून्य दशमलव तीन प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा आठ दशमलव तीन प्रतिशत रहेको छ । नेप्सेमा २०७६ फागुन मसान्तसम्ममा सूचीकृत चार अर्ब ६९ करोड सेयर संख्याको चुक्ता मूल्य चार खर्ब ५९ अर्ब ४९ करोड रूपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ ।