काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं १२, डेरी बजारमा सोमबारदेखि नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या दुई सय ७५ पुगेको छ ।
शाखारहित बैंकिङ सेवाको उद्घाटन फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने, वडा नं. १२का अध्यक्ष कमलप्रसाद चापागाईं तथा बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेलले संयुक्तरूपमा गरेका छन् ।
शाखारहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत विभिन्न बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानीलगायतका सेवा लिन सक्नेछन् । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले तीन सय ५५ शाखा कार्यालय, तीन सय ७८ एटीएम, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्र रहेका छन् । ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले ४६ लाख भन्दाबढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।