काठमाडौँ । लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई सिंहदबारमा बोलाएर छलफल गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताएका छन् । उनले चाँडै लघुवित्त र सहकारी समस्या समाधान गरिने विश्वास दिलाए । प्रधानमन्त्री दाहालले सरकारले समस्या समाधानका लागि आवश्यक पहल गरिरहेको बताउँदै लघुवित्त र सहकारी क्षेत्रले विगतमा ग्रामीण तथा विपन्न वर्गका नागरिकका लागि कर्जा प्रवाह र व्यवसाय सञ्चालनमा सहयोग गरेको भए पनि पछिल्लो समय यो क्षेत्र सङ्कटग्रस्त हुँदै गएको उल्लेख गरे । प्रधानमन्त्रीले जिम्मेवारीपूर्वक समस्या समाधानका पहल गर्नु सबैको साझा जिम्मेवारी भएको बताए । छलफलमा सहकारी र लघुवित्तका समस्या सम्बोधनका लागि सरकारका तर्फबाट भइरहेको पहलका निम्ति पीडित पक्षका प्रतिनिधिले धन्यवाद दिँदै छिटो समस्या समाधानका निम्ति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।