काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीले गलत नीतिका कारण सीमित व्यक्तिका हातमा मुलुकको अर्थतन्त्र पुगेकाले देशको विकास हुन नसकेको बताएका छन् ।
उनले किसान, युवा, बुद्धिजीवी र विश्वविद्यालयलगायत सबै क्षेत्रका समस्या र समाधानका लागि छलफल गर्न ढिलो भइसकेको भन्दै युवाहरू विदेश पलायन भएर मुलुक नबन्ने विचार राखे ।
मेलम्ची आयोजनालगायत सडक र भवन कुनै पनि आयोजना गुणस्तरीयरूपमा हुन नसकेको, निजी व्यक्तिका नाममा भएका सरकारी जग्गा फिर्ता ल्याउन नसकिएको, हेटौँडा सिमेन्ट उद्योगको प्रभावकारी सञ्चालन हुन नसकेको र किसानले मल, बीउ र बजारका लागि सधैँ माग गर्नुपरेको सवालमा सांसद डा. भण्डारीले दिगो समाधान खोज्न आग्रह गरे ।
डा. भण्डारीले स्वदेशी उत्पादन नहुँदा सरकारी कर्मचारीकै लागि अर्बौको पोशाक आयात गर्नुपर्ने स्थिति, स्वदेशको कोदोको रक्सीले बजार नपाएर विदेशी मदिरा टोलटोलमा बिक्री गरिएको, युवा पलायन रोक्न, लगानीमैत्री तथा काम गर्ने वातावरण बनाउने गरी विशेष कार्यक्रम ल्याउन नसकिएको विषयमा चिन्तन गर्न ढिला भएको भनाइ राखे । उनले मुलुकमा बिचौलियाको बिगबिगी रहेकाले किसान थप पीडामा रहेको बताउँदै उमेर पुगेका काठ पनि कटान गर्न नसक्ने नीति हुँदा मलेसियाबाट काठ आयात गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे ।
सांसद भण्डारीले मुलुकको धार्मिक तथा पुरातात्विक संरचनाको बजारीकरण गर्नुपर्ने र पर्यटनलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै यस्ता विषयमा सबै दल एकढिक्का भएर लाग्न समेत आग्रह गरे ।