ढोरपाटन (बागलुङ) । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएर हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयले वरपरसमेत गर्न सकेका छैनन् ।
स्थानीय जीवन अदैले हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्न गाह्रो भएको जानकारी दिए । हिमपातले ढोरपाटनवासीको जनजीवन कष्टकर बनेको छ । बिहीबार सामान्य हिमपात भएकामा रातिदेखि भारी हिउँ परेको उनले बताए । यसपटकको हिमपात यो वर्षकै ठूलो भएको अदैको भनाइ छ ।
अदैले भने, “एक साता जति भयो घर्मी बढ्न थालेको थियो, हिउँ परेपछि फेरि चिसो बढेको छ, मङ्सिर र माघमा पनि हिउँ परेको थियो, यो बेलाको हिउँले बालीनाली राम्रो हुन्छ, तर चिसोले गर्दा घरबाट बाहिर निस्किएर काम गर्न समस्या भएको छ ।” अहिले तेस्रोपटक भएको हिमपातले किसान र ढोरपाटन उपत्यकाका होटल व्यवसायी खुसी भएका छन् । गत मङ्सिर १७ गते र माघको १८ गते पनि भारी हिमपात भएको थियो ।