रूपन्देही : तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र सम्शेर राणाको कोटामा दुई दिने मन्त्री बनेका चोलेन्द्रका जेठान गजेन्द्र हमालले आफ्नो मक्सद पूरा नहुने देखेपछि नेपाली काङ्ग्रेस महासमिति सदस्यता परित्याग गरेका छन । नेपाली कांग्रेसको महासमितिको बैठकले हिन्दु राज्यको प्रस्तावलाई बेवास्ता गरेको हमालले राजीनामा दिएका हुन् । उनले हिन्दु राज्यको प्रस्तावलाई बेवास्ता गरिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिएको घोषणा गरेका हुन् । बिहीबार सम्पन्न काँग्रेसको महासमिति बैठकमा सनातन हिन्दू राष्ट्र हुनुपर्ने माग राख्दै ५० प्रतिशत भन्दा बढी सदस्यले हस्ताक्षर बुझाएपनि महासमिति बैठकमा त्यस विषयमा छलफल नगरिएको उनले गुनासो गर्दै हस्ताक्षर बुझाउने ५० प्रतिशत बढी महासमिति सदस्यहरुको उपेक्षा गरिएको जनाएका छन्। काँग्रेस बाँकेका पुर्वसभापति समेत रहेका हमालले हस्ताक्षर संकलन अभियानमा सक्रिय भूमिका निभाएका थिए । उनले हस्ताक्षर संकलन गरेर बुझाएपनि पार्टीले कुनै निर्णय नगरेको भन्दै राजीनामा दिनुपरेको बताएका छन् । हमालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिन्दु राष्ट्र हुनुपर्ने माग राख्ने सबै साथीहरुको उपेक्षा गरिएको हुँदा र हिन्दू राष्ट्रको एजेण्डालाई सफल बनाउन नसकेको हुँदा नैतिकताले पनि महासमितिको सदस्य पदमा बसिरहनु उचित नभएको हुँदा राजीनामा दिने घोषणा गर्दछु ।’