बाँके, जेठ २०
कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन लागू गरेको ६९ दिन पुगेको र अझै कति दिन सम्म लम्बिने हो भन्ने कुराको एकीन गर्न सकिने अवस्था छैन । सर्वसाधारण आवतजावतमा कडाइ गरिनुका साथै उद्योग, कलकारखाना एवं अधिकांश व्यापार व्यवसाय ठप्प छ । यस्तो अवस्थामा बाँकेका उद्योगी, व्यवसायीमा पनि अन्योल बढ्दै गएको प्रति चिन्तित बनेका छन् ।
ऋणको भारी बोकेर व्यापार व्यवसाय चलाएका व्यवसायी सबैभन्दा प्रभावित भएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले उकुसमुकुस भएका व्यवसायीले अब कसरी अगाडी बढ्ने भन्दै चिन्ता व्यक्त गरिरहेको बताए । सोही विषयलाई लिएर सोमबार संघले व्यावसायिक अगुवाहरुसँग छलफल गरेको छ । छलफलमा सहभागी व्यवसायीले आवश्यक सुरक्षा उपाय अपनाएर व्यापार व्यवसाय सञ्चालनका लागि बजार खुकुलो पार्नुपर्ने सुझाव दिएका छन् । यस सम्बन्धमा छिटो निर्णय नलिने हो भने धेरै व्यवसायी घर न घाटको हुने अवस्था आउने व्यवसायीले बताए ।
बाँके जिल्ला कोरोनाको हटस्पट जिल्ला हो । यहाँ एक जनाको मृत्यु र १ सय ९० भन्दा बढी संक्रमित भइसकेकाले जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउन कार्यान्वयनलाई अझ प्रभावकारी बनाउँदै लगेको छ । बजार कसरी सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा संघले प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्ने महासचिव चिरञ्जीवी ओलीले बताए । छलफलमा जे निष्कर्ष निस्किन्छ त्यसैअनुसार अगाडि बढ्ने ओलीको भनाइ छ । ओलीले लकडाउन धेरै लम्बिएकाले सचेत रहँदै व्यापार व्यवसाय खुकुलो बनाउँदै लैजानुपर्ने राय अधिकांश व्यवसायीको रहेको जानकारी दिए ।