काठमाडौं । सरकारले १२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गरी सरकारका लागि ऋणको जोहो गर्न लागेको हो ।
केन्द्रीय बैंकले जारी गरेको सूचनाअनुसार सात अर्ब रुपैयाँ पुरानो ट्रेजरी बिलको भुक्तानी गर्न र पाँच अर्ब रुपैयाँ नयाँ ऋण उठाउने गरी ट्रेजरी बिल जारी भएको छ । राष्ट्र बैंकले ९१ दिन अवधिका लागि पाँच अर्ब रुपैयाँको नयाँ ट्रेजरी बिल जारी गर्नेछ । जुन आगामी जेठ १५ गते परिपक्व हुनेछ । यस्तै, तीन सय ६४ दिन अवधिको सात अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने राष्ट्र बैंकले जनाएकोे छ । उक्त ट्रेजरी बिल भने २०८२ फागुन १३ गते परिपक्व हुनेछ ।
२०८० फागुन १५ गते मंगलबार जारी हुने ट्रेजरी बिलका लागि आज (सोमबार) दिउँसो ३ बजे बोलकबोल हुनेछ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई खर्च व्यवस्थापनका लागि आवश्यक पर्ने स्रोत जुटाउन केन्द्रीय बैंकले ट्रेजरी बिल बिक्री गर्दछ ।
ट्रेजरी बिल जारी भएपछि प्रमाणपत्र खरिद बिक्री गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तरबैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।