लमजुङ । लमजुङ बेसीसहर नगरपालिका वडा ११ चिति रामचोक बेसीका पाँच वर्षीय बालक युवराज विकलाई आर्थिक सहयोग गरिएको छ । एमआर एड्भरटाइजिङ एजेन्सीका प्रबन्ध निर्देशक एवम् कन्यादेवी युवा क्लबका सचिव राजेन्द्र प्रजापतिले बेसीसहर नगरपालिका ११ का वडा सदस्य विजयराज सेढाईँ, कन्यादेवी युवा क्लबका अध्यक्ष पारसकुमार श्रेष्ठ, समाजसेवी राजेश श्रेष्ठ, अर्जुनराज सेढाई, ऋषिराज सेढाई र नवीन परियारलगायत स्थानीयहरूको उपस्थितिमा बालकको घरमै पुगेर ५८ हजार सात सय ७० रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
२०७८ सालमा लडेर खुट्टा भाँचिएका बालकको आर्थिक अभावका कारण उपचार हुन सकेको थिएन । उपचार अभावको कारण भाँचिएको खुट्टामै बसेको बालकको राष्ट्रिय ट्रमा सेन्टरले निःशुल्क उपचार गर्न लागेको समेत एमआर एड्भरटाइजिङ एजेन्सीका प्रबन्ध निर्देशक प्रजापतिले जानकारी दिए । ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले बच्चाको निःशुल्क उपचार गर्ने आश्वासन दिएको उनको भनाइ थियो । बालक युवराजको हजुरबुबा साइला विक र हजुरआमा मिठुले पालन पोषण गर्दै आएका छन् । तर वृद्ध हजुरबुबा हजुरआमाले उपचार खर्च जुटाउन नसक्दा उनको उपचार हुन सकेको छैन ।