काठमाडौं । भुक्तानी सेवा प्रदायक इ–सेवाले ‘इ–सेवा लाइफ केयर योजना’ सार्वजनिक गरेको छ । इ–सेवा केयरको सफलतासँगै कम्पनीले यो नयाँ योजना सञ्चालनमा ल्याएको हो ।
यसअघि कम्पनीले दुर्घटना तथा बिरामी पर्दाको अवस्थालाई मध्यनजर गर्दै इ–सेवा केयर सार्वजनिक गरेको थियो । सो योजनालाई ग्राहकले अत्यधिक मन पराएपछि अहिले जीवनकै बीमा हुने गरी इ–सेवा लाइफ केयर योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । इ–सेवा लाइफ केयर एक टर्म लाइफ जीवन बीमा प्याकेज हो । यसले पाँच लाख ३० हजारसम्मको जीवन बीमाको ग्यारेन्टी गर्ने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यो जीवन बीमा योजना सन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा सञ्चालन गरिएको हो । यस योजनामा इ–सेवा केयरमा जस्तै विभिन्न स्वास्थ्यसम्बन्धी सेवाहरूमा अफर तथा छुटहरू समेत समावेश गरिएको कम्पनीले जनाएको छ ।
यस योजनामा वार्षिक सात सय रुपैयाँमा सुरुवाती पाँच लाख ३० हजार रूपैयाँसम्मको लाइफ केयर प्रदान गरिनेछ । यस योजनामा १८ देखि ४५ वर्ष उमेर समूहले भाग लिन पाउनेछन् । यस योजनामा उमेरअनुसार प्रिमियम रकम पनि फरक हुने कम्पनीले जनाएको छ । यसअघि सार्वजनिक गरिएको इ–सेवा केयरमा जीवन बीमा पनि समावेश गरी इ–सेवा लाइफ केयर योजना सार्वजनिक गरिएको हो । इ–सेवा लाइफ केयर योजनामा टर्म लाइफ कभरेज दुई लाख ५० हजार रुपैयाँ, दुर्घटना उपचार खर्च एक लाख रुपैयाँ, अस्पतालको बेड चार्जमा १० हजार रुपैयाँ, दुर्घटनाबाट भएको मृत्युमा एक लाख २० हजार रुपैयाँ, गम्भीर रोगको ५० हजार रुपैयाँ पाइनेछ । यस्तै, ३० भन्दा बढी स्वास्थ्य र सौन्दर्य सम्बन्धित सेवामा ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
इ–सेवा प्रयोगकर्ताले यो सेवा लिन सुरुमा इ–सेवाको मोबाइल एप्स अथवा वेभपेजमा गएर इ–सेवा केयर अप्सनमा क्लिक गरी त्यहाँ देखिएको इ–सेवा लाइफ केयरको अप्सनमा क्लिक गरी मागिएका विवरण भरेर भुक्तानी गरेपछि यो सेवा लिन सकिनेछ । यस योजना खरिद गर्नका लागि प्रयोगकर्ता इ–सेवामा केवाइसी प्रमाणित हुनुपर्नेछ भने खरिद गरेको २४ घन्टामा यो योजना लागू हुने कम्पनीले जनाएको छ । प्रयोगकर्ताले बीमा सेवाको उपभोग गर्न बीमा गरेको प्रमाण साथमा राख्नुका साथै दाबीका लागि आवश्यक कागजात बोक्नुपर्नेछ । इ–सेवा प्रयोगकर्ताले दुर्घटना, अस्पताल भर्ना, मृत्यु दाबीका लागि हिमालयन एभरेस्ट इन्स्योरेन्समा सम्पर्क गरी आवश्यक कागजात पेस गरी भुक्तानीका लागि दाबी गर्नुपर्नेछ ।