काठमाडौं, जेठ २०
सिटिजन लाइफ इन्स्योरेन्सले लकडाउनको समयमा पनि मृत्युदाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीको महेन्द्रनगर शाखाले बीमा दाबीबापत चार लाख १५ हजार दुुई सय रूपैया भुक्तानी गरेको हो । कम्पनीद्वारा प्रदेश न ७, कन्चनपुर, वेदकोट नपा वडा न.३ निवासी बीमित स्व. मोहन चौधरीकी धर्मपत्नी सरिता चौधरीलाई सो रकम लकडाउनका कारण कुनै पनि दाबी भुक्तानी कार्यक्रमको आयोजना गर्न नमिल्ने हुनाले ई–बैंकिङ सेवा प्रयोग गरी सिधै निजको बैंक खातामा जम्मा गरेको छ ।
बीमितले २२ महिना अगाडि मात्र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा दुुई लाखको बीमा गरेका थिए भने बीमितले अहिलेसम्म जम्मा दुुई किस्ता गरी ३२ हजार चार सय ९० रूपैयाँ कम्पनीलाई बुझाएका थिए । बीमितको मोटरसाइकल दुर्घटनाका कारण २०७७ साल, जेष्ठ ५ गते निधन भएको थियो । स्रोतका अनुसार बीमितको परिवारमा उनको श्रीमती र दुई नाबालक छोराहरू छन् ।
कम्पनीले परिवारका सदस्यलाई बीमा बापतको रकम हस्तान्तरण गरेपश्चात् सो रकमले परिवारका आश्रित सदस्यहरूको स्तरिय जीवनयापनका साथै सन्ततिको उच्च शिक्षा एवं अन्य सामाजिक कार्य गर्न सहयोगी हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले उल्लेख गरे । उनले सानो सानो रकम बचत गरेर परेका बेला जोखिम समेत बहन गर्न सक्ने रहेकाले बीमासम्बन्धी चेतना बढाउनुपर्नेमा जोड दिए । उनले कम्पनीमा रहेका बीमित, अभिकर्तालगायत अन्य सरोकारवालाहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहेको र सोलाई आगामी दिनमा समेत निरन्तरता दिइने बताए । साथ साथै कोरोना भाइरसले गर्दा निम्तिएको यस विषम पेरिस्थितिमा सबैलाई सावधान र सुरक्षित रहन सुझाव दिएका छन् ।
कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १४ करोड ३९ लाख २३ हजार रूपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । चुक्ता पुँजी एक अर्ब ७५ करोड रूपैयाँ रहेको कम्पनीले गत आवको सोही अवधिमा १२ करोड १४ लाख ३४ हजार रूपैयाँ खुुद मुनाफा आर्जन गरेको थियो ।