नेपालको केन्द्रीय बैंकको रूपमा रहेको नेपाल राष्ट्र बैंकभित्रको नेतृत्वको विवाद एकपछि अर्को गर्दै छताछुल्ला हुनपुगेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राष्ट्र बैंकको डेपुटी गभर्नर रहँदा निलम ढुंगाना राष्ट्र बैंकको कार्यकारी निर्देशक थिइन् । त्यतिबेलादेखि नै उनीहरूबीच आन्तरिक विवाद थियो र अहिले अधिकारी गभर्नर छन् भने ढुंगाना सिनियर डेपुटी गभर्नर रहेकी छन् । उतिबेलादेखि झाङ्गिदै आएको उनीहरूबीचको आपसी विवादले अहिले उग्ररूप लिँदै गएको छ र उक्त विवादले राष्ट्र बैंकभित्र प्रतिशोध लिएर एकले अर्कोलाई सिध्याउने खेल भइरहेको छ ।
पछिल्लो पटक गभर्नर अधिकारीले गत बिहीबार डेपुटी गभर्नर ढुंगानाले सम्हाल्दै आएको बैंक सुपरीवेक्षण विभाग खोसेर आफैँले लिएका छन् । बैंक सुपरीेक्षण विभाग गभर्नरले आफैँले हेर्नेगरी राखेको नेपाल राष्ट्र बैंकको इतिहासमै पहिलो हो । सामान्यतया बैंक सुपरीवेक्षण विभाग गभर्नरले हेर्ने गरिँदैन र अरुले हेरेकोमा नमिलेर तलमाथि गर्नुपर्ने हुँदा गभर्नरको भूमिका उपयोगी हुने हुनाले उक्त विभाग गभर्नर मातहतबाट अलग राख्ने गरिएको हो ।तर, डेपुटी गभर्नर ढुंगानासँगको विमतिका कारण गभर्नर अधिकारी उक्त विभाग खोसेर आफैँसँग राखेर आफ्नो सर्वोच्चतालाई आफैँले गिराउने काम गरेका छन् । उनले डेपुटी गभर्नर ढुंगानालाई आर्थिक अनुसन्धान विभाग जिम्मा लगाएका छन् । अधिकारी डेपुटी गभर्नर हुँदा कार्यकारी निर्देशक रहेकी ढुंगाना राष्ट्र बैंकको पोखरा शाखामा आयोजित कार्यक्रममा सहभागी भएर फर्कँदा दमौली शाखाबाट डेपुटी गभर्नरको कोसेली बोकेर आएकी रहेछन् र बेलुका नगरकोटमा आयोजित राष्ट्र बैंककै कार्यक्रममा सहभागी हुनपुग्दा डेपुटी गभर्नर अधिकारीले कोसेली मेरो घर छाडेर आउनुभो ? भनेर प्रश्न गरेपछि तिम्रो घर–घरमा कोसेली पु¥याउन जाने म तिम्रो को हुँ र भनेर प्रतिवाद गरेपछि सुरु भएको उनीहरूबीचको विवादले अहिलेसम्म उग्ररूप लिँदै गएको छ ।
यसअघि माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्री हुँदा गभर्नर अधिकारीलाई निलम्बन गरेर डेपुटी गभर्नर ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी दिँदा ढुंगानाले क्षणभरमै गभर्नर अधिकारीको फोटोहरू सबैतिरबाट हटाएर आफ्नो फोटो प्रतिस्थापन गरेकी थिइन् । गभर्नर अधिकारीलाई हटाउने अर्थमन्त्री शर्माको कदमलाई अदालतले साथ दिएन । उनी राष्ट्र बैंक फर्किएपछि डेपुटी गभर्नर ढुंगाना उनको एकोहोरो आँखाको तारो बन्दै आएकी छन् । यहाँसम्म कि राष्ट्र बैंकभित्र एक्लो डेपुटी गभर्नर ढुंगानाविरुद्ध गभर्नर अधिकारीले संगठित मोर्चाबन्दी नै गरेका छन् र उनको मोर्चाबन्दीबाट पीडित डेपुटी गभर्नर कतै चल्न चटपटाउन समेत नसक्ने अवस्थामा पुगेकी छिन् । गभर्नर अधिकारीको संकेत पाएपछि राष्ट्र बैंकका उनीभन्दा तल्लो तहका कर्मचारीले समेत औपचारिकता निभाउनेबाहेक अरु सम्बन्ध लगभग बन्द गरेको अवस्था छ र उनीमाथि गोपनीयता भङ्ग गरेको अघोषित आरोप राष्ट्र बैंकभित्र हल्ला चलाएको छ ।गभर्नर अधिकारीको योग्यता नपुगेको विषयमा परेको रिटमा विपक्षी बनाएका बैंकका बोर्डसदस्यहरूलाई स्वतन्त्रतापूर्वक प्रत्युत्तर लगाउन नदिएको विषयमा पनि राष्ट्र बैंकको उच्च तहमा विवाद बढ्दै गएको छ ।