काठमाडौं, जेठ २०
महालक्ष्मी विकास बैंकले अनलाइन खाता सेवा सञ्चालनमा ल्याएको छ । बैंकले विश्व माहामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण सृजित असहज परिस्थितिमा ग्राहक वर्गको सुविधालाई मध्यनजर गर्दै यस्तो खाता सञ्चालनमा ल्याएको हो । बंैकले सञ्चालनमा ल्याएको यस सेवाबाट महालक्ष्मी विकास बैंकमा खाता खोल्न चाहने स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकहरूले कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै अनलाइन खाता खोल्नका लागि आवेदन दिन तथा खाता खोल्दा आवश्यक कागजात सजिलै पेस गर्न सकिने व्यवस्था रहेको छ ।
बैंकको वेभसाइटमार्फत महालक्ष्मी अनलाईन सेभिङ देशभर रहेका एक सय दुुईवटा शाखाबाट सजिलै खाता खोल्न सकिनेछ । अनलाइन खाता खोलेपछि ग्राहकको खाता नं र आवश्यक जानकारी फारममा उल्लेख गरेको इमेल ठेगानामा पठाइनेछ । खाता खोल्न बैंकसम्म पुग्न नपर्ने र समयको बचतसँगै ग्राहकहरूले घरबाट नै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा प्रयोग गर्न सक्नेछन् । बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकलाई लकडाउनको नियमपालना गरी घर भित्रै बसेर विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउन अनुरोध समेत गरेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३९ करोड ७३ लाख ६४ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैकको यस्तो नाफा ३८ करोड ७९ लाख छ हजार एक सय १४ रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी तीन अर्ब सात करोड २० लाख ६१ हजार तीन सय २८ रूपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३५ अर्ब ४३ करोड ९६ लाख ५५ हजार एक सय १३ रूपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ७४ करोड २२ लाख १८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब १९ करोड ८९ लाख ४४ हजार दुुई सय २९ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ७८ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा बैंकले ३० अर्ब ५९ करोड ११ लाख १० हजार रूपैयाँ निक्षेप संकलन गरी २६ अर्ब १५ करोड ७१ लाख ९६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब २६ लाख ७३ हजार तीन सय १२ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।