काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सात वटै प्रदेशमा रहेका ३५ वटा शाखाबाट एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी बैंकले सो कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरूको सहभागिता रहेको थियो ।
३५ स्थानमा सञ्चालित कार्यक्रममा चार हजारभन्दा बढी मानिसलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको बैंकले जनाएको छ । बैंकका अनुसार सो कार्यक्रममा बागमती प्रदेशका सात सय, गण्डकी प्रदेशका नौ सय, लुम्बिनी प्रदेशका एक हजार आठ सय र सुदूरपश्चिम प्रदेशका सात सय ५० भन्दा बढी लक्षितवर्गको सहभागिता थियो ।