काठमाडौँ, जेठ २१
काठमाडौं महानगरपालिका १ कमलादीस्थित रिजेन्सी बुटिक होटलमा जुवा खेल्दै गरेको अवस्थामा नौ जना व्यक्तिहरू पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुुमार केसीका अनुसार उक्त होटलको एक सय चार नम्बरको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोमबार साँझ नौ जना व्यक्तिहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा काठमाडौं पानीपोखरी बस्ने ५९ वर्षीय पुरुषोत्तम अग्रवाल, पुतलीसडक बस्ने ६० वर्षीय रामचन्द्र सनहाई, बानेश्वर बस्ने ६५ वर्षीय सुरेश अग्रवाल, डिल्लीबजार बस्ने ६३ वर्षीय नन्द किशोर शर्मा, लाजिम्पाट बस्ने ५८ वर्षीय अशोक अग्रवाल, पुतलीसडक बस्ने ६१ वर्षीय गोबिन्द अग्रवाल, सामाखुशी बस्ने ३६ वर्षीय निकी जोगाई, ललितपुर सानेपा बस्ने ६० वर्षीय विमल खेतान र भक्तपुर मध्यपुर ठिमी बस्ने ५९ वर्षीय विमल अभुजा रहेका छन् । प्रवक्ता केसीका अनुसार महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले नगद दुुई लाख ७७ हजार सात सय सात रूपैयाँ, क्वाइन एक सय ७९ वटा र पाँच बुक ताससहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका नौ जना व्यक्तिहरूलाई थप अनुसन्धान गर्नको लागि काठमाडौँ जिल्लाका प्रमुुख जिल्ला अधिकारीबाट पाँच दिनको म्याद प्राप्त भएको प्रवक्ता केसीले बताए ।
अनुसन्धानको लागि पाँच दिनको म्याद थप गरिएको भए पनि विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिमलाई ध्यानमा राखेर नियमसँगरूपमा जिम्मा जमानीमा उनीहरूलाई मंगलबार साँझ नै छोडिएको छ । तर, उनीहरूलाई त्यतिको छाडिएको होइन, अनुसन्धान जारी नै रहन्छ, उनीहरू दैनिकरूपमा परिसरमा हाजिर नै हुन्छन्, प्रवक्ता केसीले भने । अहिलेको समयमा भने संक्रमणका जोखिमलाई ध्यानमा राखेर कष्टडीमा मात्र बस्न नपर्ने गरी आफन्त र परिवारका सदस्यहरूको जिम्मा जमानीमा उनीहरूलाई छाडिएको हो, प्रवक्ता केसीले भने ।