टोकियो (जापान) । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)को अन्तर्राष्टिय सम्मेलन २०२४ बिहीबार यहाँ सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै नेपाल र जापानबीच रही आएको सम्बन्धलाई थप सुदृढ तुल्याउने कार्यमा योगदान पुर्याउन जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले पत्रकारहरुलाई आह्वान गरेका छन् ।
राजदूत सुवेदीले इन्जाको उद्देश्य, एकता र सत्कार्यमा योगदान पुर्याउन अन्य संघसंस्थाहरुलाई आग्रह गर्दै इन्जाले अप्ठ्यारोमा परेका पत्रकारहरुलाई गर्दै आइरहेको सहयोग तथा नेपालीपन र नेपाली मन बचाउने कार्यमा पुर्याएको योगदान आदरणीय र उदाहरणीय रहेको बताए ।
उनले निःस्वार्थरुपले नेपालको स्वास्थ्य, शिक्षा, पूर्वाधार, विद्युत्, सडक, विमानस्थल, सञ्चारलगायतका क्षेत्रमा जापानले गर्दै आइरहेको सहयोगको उच्च मूल्याङ्कन गर्दै जनस्तरमा समेत सम्बन्ध विस्तार हुँदै गइरहेको धारणा व्यक्त गरे ।
नेपालमा पत्रकारिताको अध्ययन र श्रीवृद्धिका लागि नेपाल पत्रकार महासङ्घसँगको सहकार्यमा विश्वभरिका पत्रकारको क्षमता र दक्षता अभिवृद्धिका लागि इन्जाले काम गरिरहेको बताउँदै उनले विश्वभर रहेको पत्रकारहरुबीच इन्जाले समन्वय र सहकार्य गरिरहेको सन्दर्भमा लक्ष्यअनुरुपको योजनालाई प्राथमिकतामा राखी काम गर्न आग्रह गरे ।
नेपाल जापानबीचको सम्बन्ध र इन्जाले पत्रकारिताका माध्यमबाट विश्वभरका पत्रकारहरुलाई गोलबद्ध गर्न पुर्याइरहेको योगदानका विभिन्न पक्षबारे इन्जा मुख्यालयका वरिष्ठ उपाध्यक्ष विष्णु शीतल, सचिव दीपक रिजाल, केन्द्रीय सदस्य रीता सापकोटा, एसिया शाखाका अध्यक्ष टङ्क पन्त, उपाध्यक्ष आनन्द कोइराला, एनआरएनए एसिया च्याप्टरका उपाध्यक्ष दीपक कँडेल, जापान मनि एक्सप्रेसका अध्यक्ष ओम गुरुङ, लेखन कुञ्ज नेपालका अध्यक्ष कमल ढकाललगायतले चर्चा गरे ।
पत्रकारिताका विभिन्न विधामा हरेक वर्ष पुरस्कार प्रदान गर्दै आइरहेको इन्जाले कोभिड १९ महामारीका बेला आर्थिक सहयोगका लागि नेपालका एक सय पत्रकारहरुलाई फेलोसिप प्रदान गरेको थियो । इन्जाको अमेरिकामा सन् २०१८ मा स्थापित मुख्यालय रहेको छ भने हरेक महादेशमा शाखाहरु स्थापना गरी समस्यामा परेका नेपालका पत्रकारलाई उपचारलगायतमा सहयोग गर्दै आइरहेको छ ।
नेपालबाट इन्जाका केन्द्रीय सदस्य ध्रुव पौडेल, बिनेश खनाल, इन्जा एसियाका सदस्यहरु भगवती तिमिल्सिना, कृष्णा पौडेल, सिर्जना ढकाल, काजीराम पियालगायत तीन दिनसम्म चल्ने सम्मेलनमा सहभागी रहेका छन् ।