महेन्द्र शाही
सोलुखुम्ब, जेठ २१
सोलुखुम्बुको स्थानीय तहले आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट दुई अर्ब पाँच करोड ५६ लाख बजेट प्राप्त गरेका छन् । जिल्लाका ८ वटा स्थानीय तहले सो रकम संघीय सरकारबाट सामानीकरण र सशर्त अनुदानबापत प्राप्त गरेका हुन् । संघीय सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि सार्वजानिक गरेको बजेटअनुसार जिल्लाको एक मात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकाले ४१ करोड ४६ लाख प्राप्त गरेको छ । जसमा समानीकरण अन्तर गर्त १३ करोड सात लाख, सशर्त अनुदानतर्फ २६ करोड ८९ लाख र एक करोड ५० लाख विशेष अनुदान रहेको छ ।
यस्तै गाउँपालिकातर्फ थुलुङदूधकोशी गाउँपालिकाले ३३ करोड १९ लाख प्राप्त गरेको छ । जसमा समानीकरण अनुदान १२ करोड ५८ लाख र सशर्त अनुदान २० करोड ६१ लाख रहेको छ । यस्तै नेचासल्यान गाउँपालिकाले समानीकरणतर्फ ११ करोड ५५ लाख र सशर्ततर्फ १९ करोड ३३ लाखसहित जम्मा ३० करोड ८८ लाख प्राप्त गरेको छ । जुन गाउँपालिकातर्फ सबैभन्दा बढी रकम प्राप्त गर्ने गाउँपालिका पनि हो । यता माप्यदूधकोशी गाउँपालिकाले समानीकरण अनुदानबापत १० करोड २२ लाख, सशर्त अनुदानबापत १४ करोड छ लाख र समपूरक अनुदान ८० लाख गरी जम्मा २५ करोड आठ लाख प्राप्त गरेको छ भने खुम्बु पासाङ ल्हामु गाउँपालिकाले १८ करोड ५५ लाख प्राप्त गरेको छ । जसमा समानीकरण अनुदानतर्फको आठ करोड ५२ लाख र सशर्त अनुदान १० करोड तीन लाख रहेको छ ।
जिल्लाको लिखुपिके गाउँपालिकाले समानीकरण छ करोड ७३ लाख र सशर्त अनुदान आठ करोड ९४ लाख गरी जम्मा १५ करोड ६७ लाख प्राप्त गरेको छ । जुन जिल्लामा सबैभन्दा कम रकम प्राप्त गर्ने गाउँपालिका हो । यता सोताङ गाउँपालिकाले समानीकरण आठ करोड ३९ लाख र सशर्त अनुदान १२ करोड पाँच लाख गरी जम्मा २० करोड ४४ लाख प्राप्त गरेको छ । यस्तै जिल्लाको कर्णालीका रूपमा चिनिने महाकुलुङ गाउँपालिकाले २० करोड २९ लाख रकम प्राप्त गरेको छ । जसमा समानीकरणतर्फ नौ करोड ४० लाख, सशर्त अनुदानमा १० करोड नौ लाख र विशेष अनुदानबापत ८० लाख रहेको छ ।