काठमाडौं, जेठ २१
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक लाख क्वीन्टल चामल खरिदका लागि तेस्रो पटक सार्वजनिक बोलपत्र आह्वान गर्दा निवेदन नपरेपछि चामल खरिद नै अन्योलमा परेको छ । कम्पनीसँग मौज्दात चामल सकिनै लाग्दा नयाँ खरिदका लागि बोलपत्र आह्वान भएको करिब दुई महिना बितिसक्दा समेत खरिद प्रक्रिया सुरु हुन सकेको छैन ।
पहिलो र दोस्रो पटकको बोलपत्र आह्वानमा कुनै निवेदन नपरेपछि बजारको अवस्थानुसार दरमा केही परिमार्जन गरी पुनः तेस्रो पटक आह्वान गरिएको थियो । व्यवसायीको आग्रहअनुसार बोलपत्रमा परिमार्जन गरी तेस्रो पटक प्रकाशन गर्दा १५ निवेदन परे पनि छनौट हुन नसकेको कम्पनीले जनाएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार १५ जनाको आवेदन दर्ता भए पनि दर धेरै भएपछि छनोट हुन नसकेको हो ।
उनका अनुसार तेस्रो पटकको आह्वान समेत छनौट हुन नसकेपछि नयाँ विकल्पका बारेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलको तयारी गरिएको छ । चामल खरीदका लागि पहिलो पटक गत चैत ५ गते ३० दिनको समयसीमा राखेर बोलपत्र आह्वान गरिएको थियो । त्यसैगरी दोस्रो र तेस्रो पटक १५/१५ दिनको समय राखेर पुनः गत वैशाख १० र यही जेठ १ गते बोलपत्र आह्वान गरिएको थियो । तेस्रो बोलपत्रको समयसीमा जेठ १५ गते सकिएको छ ।
रोकियो गहुँ खरिद : खाद्य कम्पनीले तराईका दुई जिल्लामा किसानबाट गहुँ खरीद प्रक्रिया सुरु गरेकामा कोरोना संक्रमणको जोखिमले खरिद प्रक्रिया रोकिएको छ । गत वैशाख अन्तिम सातादेखि कैलाली (धनगढी) र बर्दिया (राजापुर) जिल्लामा किसानबाट गहुँ खरिद सुरु भएकामा उक्त क्षेत्रमा कोरोना संक्रमित बढेसँगै खरिद प्रक्रिया रोकिएको न्यौपानेले जानकारी दिए । उनका अनुसार उक्त क्षेत्रमा संक्रमित वृद्धि भएपछि प्रशासनको समन्वयमा खरिद प्रक्रिया रोकिएको हो । कम्पनीले धनगढी र राजापुरमा दश/दश हजार तथा बाँके(नेपालगञ्ज) र रूपन्देही (भैरहवा)मा पाँच/पाँच हजार गरी ३० हजार क्वीन्टल (तीन हजार टन) गहुँ खरिद गर्न चार जिल्लामा कोटा छुट्याएको थियो । लकडाउनका कारण नेपालगञ्ज र भैरहवामा खरिद प्रक्रिया सुुरु हुन सकेको छैन ।