गलकोट (बागलुङ) । आफूलाई नभई देश र जनताको लागि मात्रै सोचेर काम गरेको बताउँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको बताएका छन् ।
अर्थमन्त्री महतले नेपाली कांग्रेस बागलुङले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेपालमा सूचना प्रविधि, पर्यटन र जलविद्युत्मा अथाहा सम्भावना रहेको बताउँदै रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यान गइरहेको जानकारी दिए । उनले वर्तमान सरकारले अर्थतन्त्रलाई विस्तारै लयमा फर्काएको सूचकले देखाउन थालेको बताए ।
अहिलेको सरकारले तीन करोडभन्दा तलको योजना केन्द्र सरकारले नगरेर प्रदेश सरकारमा पठाउने उनको भनाइ छ । अघिल्लो सरकारले हचुवाका भरमा धेरै योजना ल्याउँदा दायित्व भुक्तानी गर्न असहज भएको उनको भनाइ छ । अर्थमन्त्री महतले भावनाले राजनीति नचल्ने भन्दै राजनीतिक पार्टी भनेको सरकार चलाउने र समृद्धि ल्याउने गरी स्थापना भएको बताए ।
शान्ति स्थापना गर्न नेपाली कांग्रेसले ठूलो भूमिका खेलेको उनको भनाइ छ । अहिलेको संवैधानिक अवस्थामा बहुमत ल्याउन नसक्ने भन्दै गठबन्धनको औचित्य स्थापित हुँदै जानु वास्तविकता रहेको बताए ।गठबन्धन परिस्थितिले सिर्जना गरेको बताउँदै उपलब्धि हासिल गर्न र एक्लै बहुमत आउन नसक्ने अवस्थामा गठबन्धन सिर्जना गर्न बाध्य भएको अर्थमन्त्रीको भनाइ रहेको छ ।
कांग्रेस एक्लै बहुमत ल्याउने गरी दृढताका साथ अघि बढ्नुपर्नेमा उनको जोड थियो । कांग्रेस पार्टीले योग्य व्यक्ति सबैलाई न्याय गर्न नसकेको बताउँदै त्यसका लागि पार्टीमा पहल गर्ने अर्थमन्त्री महतले बताए । बागलुङको पञ्चकोटमा आयोजना भइरहेको अन्नतश्री बह्माण्डीय महायज्ञअन्तर्गत अर्थसंवाद कार्यक्रममा सहभागी हुन अर्थमन्त्री बागलुङ आएका हुन् ।