भरतपुर । भरतपुर भ्रमण वर्ष २०२४ को नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर हो भनेका छन् ।
अध्यक्ष ओलीले भरतपुर देशका विभिन्न क्षेत्रबाट बसाइँसराइ गरेर आएका र यहाँका आदिवासीको सुन्दर सम्मिश्रणको सहर भएको बताए ।
अध्यक्ष ओलीले यहाँको पर्यटनको प्रचुर सम्भावना देखेर नारायणी, कोसी हुँदै बङ्गालसम्म जोड्नका लागि आफूले जलमार्गको योजना अघि बढाएको स्पष्ट गरे । उनले त्यही योजनाअनुरुप अहिले निजी क्षेत्रले नारायणीलगायत नदीमा जलपर्यटनका पूर्वाधार निर्माण गरेको बताए ।
अध्यक्ष ओलीले चितवन पूर्व–पश्चिम र हुलाकी राजमार्गसँग जोडिएको जिल्ला भएकाले पनि यहाँको सम्भावना धेरै रहेको बताए । उनले चितवन पर्यटनको प्रचुर सम्भावना भएको सहर बताए । भरतपुरको विकासका लागि सभाहल, छ लेन सडक, हुलाकी सडकको काम आफू प्रधानमन्त्री हुँदा अघि बढाउन सहयोग पुर्याएको उनले बताए ।
भरतपुरमा पूर्वाधार विकाससँगै कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रको केन्द्र बनाउन सकिने भन्दै यहाँको विश्वविद्यालयले कृषि क्षेत्रमा मार्गदर्शनको काम गर्न सक्नुपर्ने उनले बताए । अध्यक्ष ओलीले यहाँको विकासमा आफू र आफ्नो पार्टी सधैँ सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।