ढल्केबर । स्कुल बसको ठक्करबाट जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धीमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । आइतबार प्रदेश(२(०२(००१ क ०४३१ नम्बरको एन्जल्स स्कुल बसले ठक्कर दिँदा सोही ठाउँकी ३५ वर्षीया राखीदेवी यादवको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रन्जन अबालेले बसको ठक्करबाट गम्भीर घाइते भएकी यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जानकारी दिए । उनका अनुसार बसको ठक्करबाट घाइते भएकी पशुपति देवी, अम्बिका झा र ममतादेवी यादवलगायत पाँचै जनाको प्रादेशिक अस्पताल जनकपुरमै उपचार भइरहेको छ ।
आक्रोशित स्थानीयवासीले चालकको लापरबाहीले महिलाको मृत्यु भएको भन्दै ढुङ्गामुढा प्रहार गरेर स्कुल बसको सीसा फुटाइदिएका छन् भने बसलाई घेराउ गरेर विरोध प्रदर्शनमा उत्रेका छन् ।