काठमाडौँ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को अनुदान सहयोगमा निर्माण हुने प्रसारण लाइनलगायत आयोजनालाई गति दिन सरकारले आवश्यक सहजीकरण गरिरहेको बताएका छन्।
मन्त्री बस्नेतले आज साँझ आफ्नै कार्यकक्षमा एमसिसीको ‘कम्प्याक्ट अपरेसन’का नायब उपाध्यक्ष जोनाथन ब्रुक्सलाई उक्त जानकारी दिएका हुन । आफूसँग भेट गर्न आउनुभएका उपाध्यक्षलाई उनले एमसिसीको सहयोगमा अगाडि बढाइएका प्रसारण लाइन तथा सबस्टेसन निर्माण प्रक्रियाका बारेमा भएका प्रगतिबारे जानकारी दिएका थिए । उनले प्रसारण लाइन निर्माण तथा सडक पूर्वाधार निर्माणका लागि सरकारका तर्फबाट आवश्यक सहयोग भइरहेको बताए ।
नायब उपाध्यक्ष ब्रुक्सले एमसिसीको सहयोगमा सञ्चालन हुने आयोजनाका समग्र पक्षबारे बताउँदै तिनको कार्यान्वयन गरिने जानकारी दिनुभएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा भएको प्रगतिलगायत विषयमा छलफल गर्न नायब उपाध्यक्ष बु्रक्स नेपाल भ्रमणमा आउएका थिए । उनको भ्रमणले नेपाल र अमेरिकाबीचको ७७ वर्ष लामो द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास दुवै पक्षले व्यक्त गरेका छन् ।
एमसिसीको सहयोगमा कूल तीन सय १५ किलोमिटर प्रसारण लाइन निर्माण हुनेछ । त्यसनिम्ति लप्सीफेदी–रातमाटे–हेटौँडासम्मको एक सय १७ किलोमिटर, रातमाटेदेखि दमौलीसम्मको ९० किलोमिटर र दमौलीदेखि बुटवलसम्मको ९० किलोमिटर प्रसारण लाइन निर्माण हुनेछ ।
यस्तै, बुटवलदेखि नेपाल–भारत सीमासम्मको १८ किलोमिटर बराबरको प्रसारण लाइन पनि निर्माण गर्ने लक्ष्य राखिएको छ । यसअघिको बोलपत्र प्रक्रिया रद्द भएसँगै नयाँ बोलपत्रको प्रक्रिया सुरु गर्न लागिएको छ ।
नेपाल सरकार र एमसिसीबीच २०७४ भदौ २९ गते हस्ताक्षर भएको थियो । सो परियोजनाका लागि एमसिसीले ५० करोड अमेकिरी डलर अनुदान उपलब्ध गराउनेछ । आयोजनामा नेपाल सरकारले १९ दशमलव सात करोड अमेरिकी डलर लगानी गर्नेछ । रासस