काठमाडौं । सोसल साइन्स बहाःलगायतका सामाजिक संस्था र फुटपाथ व्यापारीका तीन संगठनहरूको अभिलेख र अध्ययनअनुसार काठमाडौं महानगरले फुटपाथ व्यापारलाई पूर्णरूपले र चौबीसै घण्टा तथा काठमाडौं महानगरभित्र सबैतिरका फुटपाथमा प्रतिबन्ध लगाएपछि १० देखि १५ हजारको संख्या पूर्ण बेरोजगार भएको पाइयो । यसलाई कतिपय विज्ञहरूले परिवारकै संख्या मानेका छन् । यो संख्याको परिवार वा व्यक्ति बेरोजगार हुँदा उनले पठनपाठन गराइरहेका आफ्ना सन्ततिका स्कुल कलेज पनि छुटेको अवस्था रहेको पनि अध्ययनले देखाएको छ ।
कतिसम्म भने मानिसहरूको आवतजावत धेरै नहुने ठाउँ तथा साँझबिहानको एक–दुई घण्टा व्यापार गर्न खोज्दा पछिल्लो समय महानगरबाट निर्घात पिटाइ खानुपरेको घटनाले त यो महानगर किन यति क्रू्रर भयो भन्ने प्रश्न खडा गराएको छ ।
विज्ञहरूले विगतदेखि नै फुटपाथमा व्यापार गर्नेहरूलाई एउटा निश्चित समय र ठाउँ देऊ भनेर सुझाव दिइरहेका छन् । तर महानगर भन्छ –तिनलाई अर्थात् यस्तो व्यापारलाई महानगरको एक इञ्च बाटो र एक सेकेण्डको समय पनि दिइन्नँ । फुटपाथको व्यापार नहँुदा आम उपभोक्ता पनि पीडित भएका छन् । ठूला व्यापार केन्द्रहरूले उपभोक्तालाई मूल्यमा जथाभावी गरेका भन्ने आमबुझाइ छ । गएको दशैंताका ठूला मलहरूभन्दा उपभोक्ता फुटपाथतर्फ जसरी केन्द्रित रहेको पाइयो त्यसले पनि उपभोक्ताको सोचाइ र मनस्थितिलाई बुझाउँछ ।
फुटपाथका वस्तुमा भिड लागेको यस्तो अवस्था काठमाडौंका छिमेकी नगरमा देखिएको हो । यसले अरू त अरू आफ्नै महानगरवासीलाई पनि हेपेको जस्तो बुझाउँछ । एउटा नगरपालिकाको एउटा लहडबाट यति ठूलो संख्याका मान्छेलाई बेरोजगार बनाइरहेको छ भने यो राज्यले नै चासो दिनुपर्ने विषय हो । तर त्यस्तो गरिएको देखिँदैन । अध्ययनले नै देखाएको कुरा हो फुटपाथका व्यापारीहरू पठनपाठनमा न्यूनस्तरका छन् । तर उनले जे–जति आर्जन गर्छन्, त्यसको ठूलो हिस्सा आफ्ना सन्ततिको पढाइलेखाइमा खर्च गरिरहेका छन् । उनीहरू आफ्ना सन्ततिलाई शिक्षित बनाउन चाहन्छन् । महानगरले भने त्यसमाथि पनि रोक लगाएको अवस्था छ । उल्लेखित अध्ययनले उपत्यकामा फुटपाथ व्यवसायीहरू २० भन्दा बढीका वस्तुहरू बेच्दै आएको पाइन्छ । तिनको ठूलो हिस्सा फलफूल र तरकारी, फास्टफुड/दुग्धजन्य पदार्थ/चिया र पेय पदार्थको छ । औषधीय जडिबुटी, हस्तकला र स्मृति चिह्न र पूजा सामग्री, मनी एक्सचेन्ज र घरेलु उपकरणका पनि सामग्री यसमा पर्छन् । यो प्रतिबन्धले यो महानगरमा यी वस्तुको प्राप्तिमा असहज हुन थालेको पनि बताइएको छ ।
काठमाडौं महानगरको यस्तो व्यापार व्यवसायमा विकल्पविहीन प्रतिबन्धले संवैधानिक सवालसमेत उठ्न थालेको विज्ञहरूको बुझाइ प्रकट हुन थालेको छ । नेपालको संविधानले आफनो प्रमुखधेय समाजवादलाई मानेको छ । यसको प्रारम्भ नै समाजवादोन्मुख रहने भन्नेबाट भएको छ भने त्यसैअनुसार मौलिक हकका प्रावधानहरू छन् । जस्तो, मर्यादापूर्वक बाँच्न पाउने हक, समानताको हक, सामाजिक न्याय र सामाजिक सुरक्षाको हक, रोजगारी तथा सामाजिक सुरक्षा, नेपालभर जहाँकाहीँ व्यापार–व्यवसाय गर्ने हकको व्यवस्था आदि । निश्चय नै व्यापारिक प्रयोजनका लागि होइन तर संसारभर नै निश्चित ठाउँमा निश्चित समयका लागि फुटपाथ यस्तो व्यापार व्यवसायका लागि खुला नै हुन्छन् । काठमाडौं महानगर भने अपवाद देखियो । यो अपवादले खडा गरेको बेरोजगारीको हुनुपर्छ । त्यसका लागि महानगर तयार होस् । यो प्रतिबन्धले व्यवसायीलाई मात्र होइन उपभोक्तालाई पनि मर्का पारेको छ भन्ने हेक्का रहोस् ।