काठमाडौं । तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले अघिल्लो साताको सोमबार अर्थात् यही फागुन १४ गते संघीय संसद्समक्ष प्रस्तुत गरेको विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता फेरबदल हुनेभएको छ ।
विधेयक संसद्मा प्रस्तुत हुँदाका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार गठन भएको नयाँ गठबन्धनमा पनि प्रधानमन्त्रीकै रूपमा छन् । तर, अर्थमन्त्री महत पदमुक्त भइसकेका छन् । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा नयाँ गठबन्धनको सिद्धान्त र प्राथमकिता थप हुने भएको कारण पुरानोको सट्टा नयाँ सिद्धान्त र प्राथमिकता आउनसक्ने संसद् सचिवालयका अधिकारीहरू बताउँछन् ।
‘विधेयकमा छलफलपछि अर्थमन्त्रीले जवाफ दिनुपर्ने हुन्छ, अर्कोले ल्याएका सिद्धान्त र प्राथमिकतामा नयाँ अर्थमन्त्रीले जवाफ दिएर प्रतिरक्षा गर्दैनन्’, संसद् सचिवालयका एक अधिकारीले भने, ‘नयाँ अर्थमन्त्री बनेपछि नयाँ सिद्धान्त र प्राथमिकतमा आउन सक्तछ वा पेस गरेको मितिलाई कायम राखेर सबै संशोधन गरेर पास गर्ने पनि हुन्छ । जे भए पनि पेस भएका सिद्धान्त र प्राथमिकताको सट्टा जुनसुकै रूपमा भए पनि नयाँ आउँछ ।’
बजेट पेस गर्नुभन्दा तीन महिनाअगाडि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गरेर छलफल गर्ने कानुनी प्रबन्ध गरेपछि तत्कालीन अर्थमन्त्री डा. महतले सरकारले गत १४ गते विनियोजन विधेयक २०८१ का सिद्धान्त र प्राथमिकता संसद्मा पेस गरेका थिए । सोमबारदेखि उक्त सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यक्रम तय भएको थियो । त्यही दिन नयाँ गठबन्धन गरेर चार सदस्यीय मन्त्रिपरिषद् पनि गठन भएको छ । अब पुरानो अर्थमन्त्रीले पेस गरेका बजेटसँग सम्बन्धित विषय परिवर्तन हुनेछ ।
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा आधारित रहेर नयाँ सरकारले आफ्नो नीति तथा कार्यक्रम पेस गर्नेछ र त्यहीअनुसार बजेट आउनेछ । बजेट कस्तो आउँछ भन्ने संकेत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा भर पर्ने भएकाले अब पुरानोलाई छाडेर नयाँ सिद्धान्त र प्राथमिकता आउने संसद्का अर्का एक अधिकारीले पनि बताए । ‘सिद्धान्त र प्राथमिकता भनेका बजेटका जग हुन्’, ती अधिकारीले भने, ‘अर्थमन्त्री नै नयाँ आउने भएपछि बजेटका सिद्धान्त र प्राथमिकता नै नयाँ आउनेछ ।’