काठमाडौं । भगवान् बुद्धको जन्मभूमि लुम्बिनीमा देशले नै गर्व गर्नुपर्ने गरी शिखर सम्मेलन सम्पन्न हुन लागेको छ । सम्मेलनमा नौ जना त विश्व प्रसिद्ध नोबेल पुरस्कार विजेता नै सहभागी हुनेछन् । लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुद्धस्थल लुम्बिनीमा फागुन २८ र २९ गते यस्तो सम्मेलन सम्पन्न हुनेछ । विभिन्न राष्ट्रका नौ जना नोबेल पुरस्कार विजेतासहित विभिन्न क्षेत्रका ख्यातिप्राप्त तीन सय बढी संख्याका विशिष्ट व्यक्तित्वहरूले विभिन्न देशको प्रतिनिधित्व गर्ने छन् । प्रदेश सरकार आफैँले यस्तो जानकारी गराएको हो । आयोजक समितिका अनुसार यस्तो सम्मेलन नेपालमा पहिलोपटक हुन लागेको हो । अमेरिकामा सचिवालय रहेको लिडर्सको स्टेरिङ कमिटीमा सन् २०१४ का नोबेल पुरस्कार विजेताले यो सम्मेलनको संयोजन गरिरहेको बताइएको छ । यो सम्मेलन ऐतिहासिक र कतिपय कारणले नेपालका लागि विश्व समुदायसम्म पुग्न महत्वपूर्ण हुने भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले नै सम्मेलन सफल पार्न आह्वान गरेका छन् । उनका अनुसार भारतमा प्रवण मुखर्जीले राष्ट्रपति भवनमा यो सम्मेलन गर्नुभएको थियो । नेपालमा हामीले काठमाडौंबाहिर गरिरहेका छौं । त्यसैले सम्मेलन सफल पार्न धेरै विषयमा ध्यान दिनुपर्ने हुन्छ । यसकारण पनि संघीय सरकारसँग समन्वयन गरेर काम गरिरहेका छौं ।
मुख्यमन्त्रीले भनेअनुसार नै हो भने भगवान् बुद्धसँग जोडिएका संस्थामा भएका अशुद्ध नियुक्तिहरू सच्याउनुपर्छ । यो सम्मेलन लुम्बिनीमा नै गर्नुको कारण भनी शान्ति र करुणाको सन्देश दिने ऐतिहासिक, सांस्कृतिक र प्राकृतिकस्थल लुम्बिनीको ब्रान्डिङ गर्न खोजिएको भनिएको छ । यस्तो बेला सरकारका कतिपय गलत नियुक्तिले पहिले नै लुम्बिनीलाई बदनाम गरेका छन् । एक हुन् ल्हारक्याल लामा । उनलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाइएको घटना आफैँ विवादित थियो । लुम्बिनी संसारभर नै सुन्दर र शान्त भनी चिनिन्छ । यो नियुक्तिले त्यसमा चोट लागेको नेपालीहरूले महसुस गरेका छन् भने त्यो कुरा विश्वका यी विशिष्टहरूले पनि थाहा पाए भने उनका मनलाई पनि अशान्त बनाउने छ । लुम्बिनीमा हुने कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्षको गरिमामय उपस्थिति हुन्छ नै तर त्यस्तो गरिमालाई ग्रहण गर्ने उनमा योग्यता छैन ।
नियुक्त हुनासाथ उनले भनका थिए –लुम्बिनीको गरिमालाई उँचो राख्दै काम गर्छु, गौतम बुद्ध र मायादेवीलाई साक्षी राखेर लुम्बिनीजस्तो पवित्र ठाउँको बदनाम गर्दिनँ ।’ तर त्यसको केही दिनपछि नै उनले गौतम बुद्धको अस्थिधातु समाधिस्थल रामग्राम क्षेत्रको एक सय २० बिघा जमिन ९९ वर्षका लागि कुनै निजी क्षेलाई लिजमा दिए । पछि यो सम्झौता खारेज भयो । तर उनको नियत भने ठीक थिएन भन्ने देखियो नै ।
पछिल्लो समय मायादेवीको मन्दिरमा रहेका पुरातात्विक वस्तुमा परेका बताइएको छ । भगवान् बुद्ध सत्यका प्रतिक हुन तर बुद्धका नामका संस्था चलाउने ल्हारक्याल असत्यका पुञ्ज हुन् । उनको विगतले नै यो कुरा बताउँछ । उनले बैंकमा राखेका गोलीहरू उनी नियुक्त हुँदाका बखत चर्चामा आएकै हुन् । उनले गरेको कामको उदाहरण दिँदै लेखा समितिले नै जनाएअनुसार पनि लामाले गरेको सम्झौतामा ९९ वर्ष लिजमा र त्यसपछि पनि आपसी सहमतिमा अवधि थप्न सक्ने प्रावधान राखिएको थियो । यो भनेको पवित्रस्थलमा अपवित्र काम प्रवेश गराएको अवस्था हो । कम्तीमा यो सम्मेलनमा यी व्यक्ति त्यो ठाउँमा हुनुहुन्न । आयोजकले ध्यान पुर्याऊन् ।