काठमाडौँ । आयोगको कार्यालयमा बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र ‘युनाइटेड नेसन वुमन’का देशीय प्रतिनिधि पत्रिसिया फेरनान्डेजबीच भेटवार्ता भएको छ ।
सो अवसरमा नेपालको विकासका प्रयासमा ‘युएन वुमन’ले गरेका विभिन्न प्रयासको चर्चा गर्दै प्रमुख आयुक्त थपलियाले हाल लैङ्गिक समावेशीकरणका क्षेत्रमा सरकारका विभिन्न निकायसँग भएका सहकार्यकाबारेमा जानकारी गराए ।
लैङ्गिक तथा समावेशी नीतिको मूल्याङ्कन, चौथो रणनीतिपत्र तयारीका साथै सोको कार्यान्वयनमा युएन वुमनमार्फत सहकार्य गर्न उनले आह्वान गरे ।
राजनीतिक क्षेत्रमा महिलाको गुणस्तरीय सहभागिता वृद्धिका लागि थप नीतिगत व्यवस्था गर्न आवश्यक रहेको बताउँदै देशीय प्रतिनिधि पत्रिसियाले नेपालको लैङ्गिक तथा समावेशीकरणको सफलता उदाहरणीय रहेको उल्लेख गरिन्। उनले आयोगले अवलम्बन गरेका लैङ्गिक समावेशीकरणका प्रयासमा हरसम्भव सहयोग गर्ने विश्वास दिलाइन् ।