काठमाडौं । एनआइसी एसिया बैंकको सहकार्यमा मोरङ जिल्ला क्रिकेट एसोसिएसनले राष्ट्रिय टी २० च्याम्पियनसिप आयोजना गर्ने घोषणा गरेको छ । बैंक र मोरङ जिल्ला क्रिकेट एसोसिएसनका प्रतिनिधिहरूले विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा मार्च ५ देखि मार्च १६ सम्म राष्ट्रिय टी २० च्याम्पियनसिप आयोजनाको घोषणा गरेका हुन् ।
ब्रान्डिङ एन्ड कर्पोरेट कम्युनिकेसन विभागका प्रमुख सरोज भट्टराईले भने ‘नेपाली खेल क्षेत्रमा क्रिकेट खेलले पु¥याएको महत्वलाई बैंकले क्रिकेटमा देखाएको समर्पणले थप उजागर गर्ने विश्वास लिएका छौँ । नेपाली जनमानसको मन–मनमा विशेष स्थान ओगटेको क्रिकेट खेलले समुदायलाई एकताबद्ध गर्ने अविस्मरणीय कार्य गरेको छ ।’ उनले भने ।
‘बैंकले एकता, टिमवर्क र उत्कृष्टताको भावनालाई बढावा दिँदै आएको छ । जुन कुरा खेल जीवनमा समेत चरितार्थ हुँदै आएको छ । बैंकले यस्ता प्रतियोगिताहरूमा सहकार्य गरेर खेल जीवनलाई प्रवद्र्धन गर्ने मात्र नभई राष्ट्रियस्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्न इच्छुक युवा क्रिकेटरहरूलाई उत्कृष्ट मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ,’ उनको भनाइ छ । सम्भवतः ’बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारालाई स्थापित गर्न समेत खेल क्षेत्रसँगको हातेमालोले निकै नै ठोस योगदान दिनेछ भन्ने बैंकले विश्वास लिएको छ ।’ यसैगरी मोरङ जिल्ला क्रिकेट एसोसिएसनका अध्यक्ष एमडी साद कुरेशीले एसोसिएसनको तर्फबाट क्रिकेट व्यवस्थापनमा एक महत्वपूर्ण कदमको पहिलो प्रमुख चरणमा भुक्तानीहरूको डिजिटलाइजेसन गरिरहेको जानकारी दिए ।
बैंकको सहकार्यमा प्लेयर अफ दि म्याचको रकम क्युआर कोडबाट भुक्तानी गर्ने पनि उनले बताए । ’यस नवीन दृष्टिकोण क्रिकेट व्यवस्थापनको विकासमा एउटा मेरूदण्ड रहेको हामीले बुझेका छौँ,’ उनले भने, ’यसलाई सम्भव तुल्याउन एनआइसी एसिया बैंकको सदाचारी समर्थन हाम्रा लागि कोषेढुङ्गा सावित भएको छ ।’