काठमाडौं,मध्येनपाल नगरपालिका,लम्जुङका नगर प्रमुख रमेशकुमार पाण्डेले चलचित्र ‘सतीदेवी’ लाई सम्पूर्ण रुपले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । लक्ष्मण सुवेदी लिखित,निर्मित तथा निर्देशीत ‘सतीदेवी’ को बुधबार दमौलीको क्युएफएक्स सिनेमामा बिशेष प्रदर्शनी गरिएको थियो । सो कार्यक्रमका प्रमुख अथिति मेयर पाण्डेले मौलिक कथामा निर्माण गरिएको तथा सार्वजनीक प्रदर्शन अगावै देश–बिदेशमा चर्चामा रहेको चलचित्र ‘सतीदेवी’ लाई सबैले साथ दिनुपर्ने धारणा राखे ।
‘हाम्रो मध्यनेपाल नगरपालीकाका बिभिन्न स्थानमा छायांकन गरिएको यस चलचित्रले निकै तारिफ पाइरहेको छ । देशको मौलिक कला,संस्कृति तथा कथालाई चलचित्रको माध्यमबाट बिश्वसामु पुर्याउनु निकै सह्रानीय कार्य हो । आफ्नो माटोको सुगन्धलाई उजागर गर्ने ‘सतीदेवी’ टिमलाई हामी सबैले साथ,सहयोग र प्रेरणा दिनुपर्छ,’ मेयर पाण्डेले भने,‘स्थानीयता, नेपालीपना,वास्तवीकमा मौलिक बिषयबस्तुलाई उठान गर्ने जोकोहीलाई पनि सरकार र सम्बन्धीत निकायले भरपुर सहयोग गर्नुपर्छ । यस चलचित्रलाई मध्यनेपाल नगरपालिका र मेरो ब्यक्तिगत तबरले समेत यथासक्य धेरै सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दछु ।’ उनले ‘सतीदेवी’ ले उठाएको नारीपक्षको मुद्दा निकै गहन र मननीय रहेको बताउदै आफूलाई चलचित्र निकै मन परेको प्रतिक्रिया ब्यक्त गरे ।
कार्यक्रममा ‘सतीदेवी’ को तर्फबाट निर्देशक सुवेदीले मेयर पाण्डे, वडा नं ५ का अध्यक्ष ओमवीर गुरुङ,स्थानीय श्री सृजनशील एकता मगर समाज,लाफा गाउँ होमस्टे,कलाकार इभन श्रेष्ठ,क्युएफएक्स दमौलीलगायतलाई आभार पत्र प्रदान गरेका थिए । अधिकांश दृश्य मध्यनेपाल नगरपालीकाका वडा नं ५ लगायत बिभिन्न स्थानमा खिचिएको र छायांकन तथा प्रबद्र्धनमा आफूहरुलाई निकै सहयोग मिलेकाले धन्यबाद स्वरुप शो आयोजना गरिएको निर्देशक सुवेदीले बताए ।बिशेष प्रदर्शनी समारोहमा मध्यनेपाल नगरपालीका वडा नं ५ का अध्यक्ष ओमवीर गुरुङ,वडा नं ३ का अध्यक्ष केशब न्यौपाने,वडा नं ४ का अध्यक्ष रामबहादुर श्रेष्ठ,वडा नं ७ का अध्यक्ष हिराबहादुर गुरुङ र वडा नं ९ का अध्यक्ष महेशकुमार पाण्डेलगायत जनप्रतिनिधि तथा वडा नं ५ स्थिति लाफा गाउँ होमस्टे,श्री सृजनाशील एकता मगर समाजका प्रतिनिधिहरुका साथमा स्थानीयहरुको बाक्लो उपस्थिति थियो ।