काठमाडौं । नेपाल वायु सेवा निगमको ग्राउन्ड ह्यान्डलिङ सेवाको गुणस्तर आईएटीए सेफ्टी अडिट फर ग्राउन्ड अपे्रसन–आईएसएजीओबाट प्रमाणीकरण भएको छ ।
निगमका प्रवक्ता रमेश पौडेलले एक विज्ञप्ति जारी गरी निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवाको सेवाको गुणस्तर आईएटीए–आईएसएजीओबाट प्रमाणीकरण भएको जानकारी दिएका हुन् । सो प्रमाणीकरणसँगै थप दुई वर्ष अर्थात् ५ मार्च, २०२६ सम्मको लागि नवीकरण समेत भएको निगमले जनाएको छ । आईएटीए–आईएसएजीओको नियमानुसार दुई–दुई वर्षमा गरिने अडिटको लागि आईएटीएका आधिकारिक अडिटर्सहरूले अडिट गरेपश्चात निर्धारित सबै मापदण्ड पूरा गरेको हुनाले निगमलाई यो प्रमाणपत्र प्रदान गरिएको हो ।
निगमको ग्राउन्ड ह्यान्डलिङ सेवाका लागि निगमले विगत सन् २०१६ अगस्ट २६ देखि आईएटीए–आईएसएजीओ प्रमाणपत्र प्राप्त गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्य वायुसेवाहरूको अन्तर्राष्ट्रिय उडानहरूमा ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्दै आइरहेको छ ।