म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ को रत्नेचौर ‘लिफ्ट’ खानेपानी आयोजना निर्माण नक्साङ्कनमा भएको त्रुटिका कारण रोकिएको छ । कालीगण्डकीको पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा दुई सय ४३ घरधुरीमा निजी धारामार्फत वितरण गर्ने लक्ष्यअनुसार करिब तीन करोडको लागतमा चार वर्षअघि सुरु भएको आयोजना निर्माण प्रभावित बनेको हो ।
वडाध्यक्ष टेकबहादुर थापाले नक्साङ्कनअनुसार सिमस्थित कालीगण्डकी किनारमा इनार खन्ने क्रममा ढुङ्गा भेटिएको र मागअनुसार पानीको स्रोत नभएपछि निर्माण कम्पनीले खानेपानी आयोजना निर्माणको काम रोकेको बताए । वडाध्यक्ष थापाले बगरको सतहबाट तीन मिटर गहिरो इनार खन्ने क्रममा ढुङ्गा भेटिएपछि वैकल्पिक ठाउँमा मुहान बनाएर आयोजनालाई पूर्णता दिन पहल गरेको बताए ।
कुल छ करोड ७६ लाख लागत अनुमान गरिएको योजनाको मुहानमा इनार, मुख्य लाइन, सङ्कलन, रिजर्भ र वितरण ट्याङ्कीलगायत संरचना निर्माण गर्न प्राकृतिक–प्रदीप–जुम्ली जेभीबीच २०७७ असार २४ गते दुई करोड ७५ लाख ३६ हजार पाँच सय छमा ठेक्का सम्झौता भएको थियो । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीका अनुसार २०७९ असार २३ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने योजनाको हालसम्म ४० प्रतिशतमात्र भौतिक प्रगति भएको छ ।
रत्नेचौरका बासिन्दा ईश्वर बरुवालले धारा निर्माण भएको डेढ वर्षसम्म पनि पानी वितरण नभएको गुनासो गरे । रत्नेचौरमा विसं २०३५ मा निर्माण भएको खानेपानी आयोजना जीर्ण र अव्यवस्थित छ । जीर्ण संरचना र मुहान सुक्दै गएकाले पर्याप्त पानी आपूर्ति हुनसकेको छैन । आयोजना निर्माणमा भएको ढिलाइले घरघरमा धाराबाट शुद्ध खानेपानी उपभोग गर्न पाउने आशा गरेका नागरिक निराश बनेका स्थानीय ओमबहादुर रोकाले बताए ।
लामगरास्थित कालीगण्डकी किनारमा मुहान बनाउनका लागि डिजाइन परिवर्तनका लागि मन्त्रालयमा पेस गर्ने प्रस्ताव तयार पारेको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीका प्रमुख झलकमोहन ओझाले बताए । हालसम्म एकवटा रिजर्भ फेरो ट्याङ्की निर्माण सकिएको छ । दुईवटा ट्याङ्की र इनार निर्माणलाई पूर्णता दिन बाँकी छ । मुख्य पाइप लाइन जडान र गाड्ने, शाखा लाइन खन्ने गाड्ने काम बाँकी छ ।