काठमाडौँ । राष्ट्रपति कार्यालयमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएपछि नवनियुक्त वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडीले पदबहाली गरेका छन् । उनले सिंहदरबारस्थित मन्त्रालय पुगेर आजै पदबहाली गरेका हुन् ।
पदबहालीपछि मन्त्री सुडीले मन्त्रालयल तथा निकायका सबै कर्मचारीसँग सरसल्लाह तथा विचार विमर्श गरेर मन्त्रालयलका काम अघि बढाउने बताए । उनलाई मन्त्रालयलका सचिव डा. दीपकुमार खराललगायत मन्त्रालयल र मातहतका विभाग तथा निकायका उच्चपदस्थ कर्मचारीहरुले स्वागत गरेका थिए ।
मन्त्री सुडीले मुलुकको करिब ४५ प्रतिशत भूभाग ओगटेको वन क्षेत्रबाट स्थानीय जनताका जीविकोपार्जनको आवश्यकता पूरा गर्ने र मुलुकमा रोजगारी सिर्जना गर्ने सम्बन्धमा आफ्नो ध्यान केन्द्रित हुने विश्वास दिलाए ।
मन्त्री सुडी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ सालमा सप्तरी क्षेत्र नं १ बाट निर्वाचित भएका हुन् ।पदबहालीपछि उनले सङ्घीय मन्त्रालय र सातै प्रदेशका वन मन्त्रालयबीच समन्वयका लागि समन्वय अधिकृत तोक्ने पहिलो निर्णयमा हस्ताक्षर गरे ।