काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाको तामाकोसी गाउँपालिकामा सभाहल र शौचालय भवन निर्माणमा भ्रष्टाचार भएको भन्दै १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष उर्मिला खड्का, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, गाउँपालिका–३ का तत्कालीन तथा बहालवाला वडाध्यक्ष रामप्रसाद काफ्लेलगायतविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । यस्तै आयोगले गाउँपालिकाका लेखा अधिकृत विजय लुइँटेल, इन्जिनियर सुबोधकुमार चापागाईं, लेखापाल रामबहादुर कार्की, सबइन्जिनियर सिर्जना दुवाल, उपभोक्ता समितिका अध्यक्ष इराजन पोखरेल, सचिव नम्रता महत, कोषाध्यक्ष माण्डवी पोखरेलविरुद्ध पनि मुद्दा दायर गरेको छ । यस्तै, पालिकाको अनुगमन समितिका सदस्यदय तामाकोसी–१ र ४ का तत्कालीन वडाध्यक्षहरू महेश्वर काफ्ले र होमबहादुर श्रेष्ठविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
आयोगका अनुसार तामाकोसी–३, जफे जामुनेमा सभाहल तथा शौचालय निर्माण उनीहरूले १२ लाख ८९ हजार तीन सय २० रुपैयाँ अनियमितता गरेको पाइएको हो । सभाहल तथा शौचालय निर्माण गर्न गठित उपभोक्ता समिति, पालिकालको अनुगमन समिति, वडाध्यक्ष र प्राविधिकसहितको मिलेमतोमा नक्साअनुसारको काम नहुँदा पनि गैरकानुनी तवरबाट बजेट निकासा भएको देखिएको आयोगले जनाएको छ । यस्तै, सो सभाहल तथा शौचालय भवनको लम्बाइ, पिलर तथा टाई बिमको साइज घटी बढी रहेको र भवन निर्माण स्थलमा रहेको पुरानो भवनको सामग्रीमा वडाध्यक्षले बेचेर आफैँ खर्च गरेको पाइएको आयोगले जनाएको छ ।
नक्साविपरीत निर्माण गरिएको सो भवन हाल सञ्चालनमा समेत नआएकाले निर्धारित सर्त तथा मापदण्डविपरीत निर्माण गरेको निर्माण कार्यको भुक्तानीको लागि नापी किताब, उपभोक्तासम्बन्धी बिल, कार्य सम्पन्न प्रतिवेदन, गोश्वारा भौचर, टिप्पणी पेस गर्ने कार्य गरी भुक्तानी दिन नमिल्ने रकम १२ लाख ८९ हजार ३२० रुपैयाँ भुक्तानी दिने कार्य गरी भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।