काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाबीचको मर्जर प्रक्रिया अवरुद्ध भएको छ । यसअघि दुवै संस्थाहरूले एकआपसमा मर्जर गरी एकीकृत कारोबार सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको भए पनि पछिल्लो समय मानुषी लघुवित्तले श्रृजनशील लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक नदेखका कारण यी दुई संस्थाबीचको मर्जर प्रक्रिया अवरुद्ध भएको हो ।
यसअघि यी दुवै संस्थाहरूले एक आपसमा मर्ज हुन २०७९ चैत २ गते समझदारी पत्र र २०८० पुस ११ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सोही आधारमा माघ सात गते यी दुई संस्थाहरूले मर्जरको अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा पत्राचार गरेको थियो । तर पछिल्लो समय भने श्रृजनशील लघुवित्तको वित्तीय अवस्था खराब भएका कारण मानुषी लघुवित्तले उक्त संस्थासँगको मर्जर प्रक्रियाबाट हात झिकेको हो ।